१९ असार,काठमाडौं । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले एल निनो आगामी केही महिनाभित्र उल्लेखनीय रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका विभिन्न क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम बढ्ने जनाएको छ। सङ्गठनले सम्भावित प्राकृतिक विपद्का प्रभाव कम गर्न सबै देशलाई समयमै आवश्यक तयारी गर्न आग्रह गरेको छ।
डब्लुएमओले सार्वजनिक गरेको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एल निनो अवस्था अहिले नै विकसित भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। विभिन्न अन्तर्राष्ट्रिय जलवायु केन्द्रहरूले तयार पारेका पूर्वानुमान मोडेलहरूले मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम निरन्तर बढ्ने देखाएका छन्।
एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही पानी असामान्य रूपमा तातिँदा उत्पन्न हुने प्राकृतिक जलवायु प्रणाली हो। यसको प्रभावका कारण विश्वभर हावाको बहाव, वायुदाब तथा वर्षाको ढाँचामा व्यापक परिवर्तन देखिन्छ। सामान्यतया यो घटना दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्ने र करिब नौदेखि १२ महिनासम्म सक्रिय रहने गर्छ। यसको विपरीत अवस्था ‘ला निना’ हो भने यी दुईबीच तटस्थ अवस्था रहने गर्छ।
डब्लुएमओले एल निनोलाई कमजोर, मध्यम, बलियो र अत्यन्त बलियो गरी चार तहमा वर्गीकरण गर्ने गरेको छ। यसपटक जुलाईदेखि सेप्टेम्बरसम्म एल निनो तेस्रो अर्थात् ‘बलियो’ श्रेणीमा पुग्ने अनुमान गरिएको छ। प्रमुख अनुगमन क्षेत्रहरूमा समुद्री सतहको तापक्रम औसतभन्दा दुई डिग्री सेल्सियसभन्दा बढी रहने अपेक्षा गरिएको छ, जसले पूर्वानुमानप्रति उच्च विश्वसनीयता देखाएको सङ्गठनले जनाएको छ।
सङ्गठनका अनुसार एल निनो उत्तरी गोलार्धको शरद ऋतुमा अझ बलियो हुँदै जानेछ र यसको प्रभाव विश्वका धेरै भागमा फैलिनेछ। साथै भूमध्यरेखीय एटलान्टिक महासागरको तापक्रम पनि सामान्यभन्दा बढी रहने अनुमान गरिएको छ। डब्लुएमओले पछिल्लो एल निनोले सन् २०२३ लाई इतिहासकै दोस्रो सबैभन्दा तातो वर्ष र सन् २०२४ लाई पूर्वऔद्योगिक औसतभन्दा १.५५ डिग्री सेल्सियस बढी तापक्रमसहित अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्न महत्त्वपूर्ण योगदान दिएको जनाएको छ।
डब्लुएमओका महासचिव सेलेस्टे साउलोले एल निनोको प्रभावसँगै धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, स्थल तथा समुद्री गर्मीको लहरको जोखिम उल्लेखनीय रूपमा बढ्ने बताए। उनले कृषि, स्वास्थ्य, जलस्रोत तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूले प्रारम्भिक चेतावनी प्रणाली र मौसमी पूर्वानुमानलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। समयमै सूचना प्रवाह र पूर्वतयारीले जनधनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नयाँ मौसमी अद्यावधिकअनुसार ६० डिग्री दक्षिणदेखि ६० डिग्री उत्तरसम्मका अधिकांश जनबसोबास भएका भूभागमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना छ। जुलाईदेखि सेप्टेम्बरसम्म केही क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको भए पनि भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको डब्लुएमओले जनाएको छ।
सङ्गठनले जलवायु परिवर्तनका कारण एल निनोको आवृत्ति वा तीव्रता बढेको भन्ने ठोस वैज्ञानिक प्रमाण हालसम्म नरहेको स्पष्ट पारेको छ। तर समुद्र र वायुमण्डलको तापक्रम लगातार बढिरहेका कारण एल निनो सक्रिय हुँदा गर्मीको लहर, भारी वर्षा, बाढी, खडेरी तथा अन्य चरम मौसमीय घटनाको प्रभाव अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ।
डब्लुएमओका अनुसार उत्तरी गोलार्धको गर्मीयाममा एल निनोसँग सम्बन्धित न्यानो समुद्री पानीका कारण मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरीको गतिविधि बढ्न सक्ने सम्भावना छ। तर यसको विपरीत अटलान्टिक महासागर क्षेत्रमा यस्ता प्रणालीको विकास केही कमजोर हुन सक्ने अनुमान गरिएको छ।
डब्लुएमओले सबै सदस्य राष्ट्रहरूलाई मौसम तथा जलवायु पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन, जोखिमयुक्त क्षेत्रको पहिचान गर्न तथा कृषि, स्वास्थ्य र विपद् व्यवस्थापन क्षेत्रमा समयमै तयारी गर्न आग्रह गरेको छ। विशेषज्ञहरूका अनुसार एल निनोको प्रभाव विश्वव्यापी रूपमा फरक–फरक हुने भए पनि पूर्वतयारी, प्रभावकारी सूचना प्रणाली र समन्वयात्मक विपद् व्यवस्थापनले यसको नकारात्मक असरलाई उल्लेखनीय रूपमा कम गर्न सकिन्छ।


















