१९ असार, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ ।
शुक्रबार एक सार्वजनिक सूचनामार्फत बोर्डले २०८२ सालको मङ्सिर मसान्तसम्मको सम्पूर्ण बक्यौता रकम फरफारक भइसकेको जानकारी दिएको हो । सीमित स्रोत र संरचनागत चुनौतीका बीच पनि नागरिकको उपचारमा सहज पहुँच पुर्याउन बोर्ड प्रयासरत रहेको बताउँदै, पुस महिनायताको बाँकी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र स्रोत सुनिश्चितताको पहल भइरहेको बोर्डले जनाएको छ ।
भुक्तानीमा भइरहेको ढिलाइका कारण सेवा प्रदायक संस्था र सेवाग्राहीमा देखिएको असजताप्रति बोर्डले गम्भीर चासो व्यक्त गरेको छ । यस असहज परिस्थितिमा पनि बिरामीको उपचारमा कुनै अवरोध नगर्न र तोकिएको मापदण्डअनुसार गुणस्तरीय सेवा प्रवाह गरिरहन बोर्डले स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।
साथै, बिमा कार्यक्रमको दिगोपन कायम राख्न बोर्डले बीमितहरूलाई पनि उत्तिकै जिम्मेवार बन्न अपिल गरेको छ । अनावश्यक परीक्षणको माग नगर्न र चिकित्सकहरूलाई उपचार प्रक्रियामा अस्वाभाविक दबाब नदिन आग्रह गर्दै बोर्डले बिमा सेवाको सही र विवेकपूर्ण उपयोग गर्न सम्पूर्ण नागरिकमा विशेष अपिल गरेको छ ।



















