२० असार,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले प्रविधिमैत्री शिक्षालाई थप प्रभावकारी बनाउन ७ वटा नयाँ स्मार्ट बोर्ड प्राप्त गरेको छ। बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराएको हो।
आयोजित कार्यक्रममा सूर्य नेपालका व्यवस्थापक सुरेशकाजी श्रेष्ठले विद्यालयका प्रधानाध्यापक शंकर आचार्यलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्दै गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताए। उनले सूचना प्रविधिको तीव्र विकाससँगै विद्यालयको शिक्षण प्रणाली पनि डिजिटल माध्यममा रूपान्तरण हुनुपर्ने आवश्यकता औँल्याए।
श्रेष्ठले वर्तमान प्रतिस्पर्धात्मक युगमा कम्प्युटर तथा डिजिटल सीप विद्यार्थी र शिक्षक दुवैका लागि आधारभूत आवश्यकता बनिसकेको उल्लेख गर्दै कृत्रिम बौद्धिकता (एआई), च्याटजीपीटी, जेमिनी तथा क्लाउड प्रविधिजस्ता आधुनिक उपकरणले शिक्षा प्रणालीमा व्यापक परिवर्तन ल्याइरहेको बताए। समयअनुसार प्रविधिसँग अद्यावधिक हुनुपर्नेमा उनले जोड दिए।
उनका अनुसार ४३ वर्षदेखि नेपालमा सञ्चालनमा रहेको सूर्य नेपालले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सामाजिक लगानी गर्दै आएको छ। स्थानीय समुदायसँग सहकार्य गरी दीर्घकालीन विकासमा योगदान पुर्याउने कम्पनीको नीति रहेको उनले बताए।
विद्यालयका प्रधानाध्यापक शंकर आचार्यले कम्पनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठामा शिक्षण सिकाइलाई थप प्रभावकारी, अन्तरक्रियात्मक र विद्यार्थीमैत्री बनाउने विश्वास व्यक्त गरे। अडियो, भिडियो, प्रस्तुतीकरण तथा अन्य डिजिटल सामग्रीमार्फत अध्यापन गर्न सहज हुने भएकाले विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने उनले बताए।
विद्यालयमा यसअघि पनि सूर्य नेपालले प्रशासनिक भवन निर्माण, जीवविज्ञान प्रयोगशाला स्थापना, कम्प्युटर उपलब्ध गराउने, स्मार्ट बोर्ड प्रदान गर्ने तथा अन्य शैक्षिक पूर्वाधार विकासमा सहयोग गरिसकेको छ। हाल विद्यालय परिसरमा इन्टरलक ब्लक बिछ्याउने र हरियाली प्रवर्द्धन गर्ने कार्यसमेत सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।
यसै कार्यक्रममार्फत सूर्य नेपालले क्षेत्रका अन्य शैक्षिक संस्थालाई पनि स्मार्ट बोर्ड वितरण गरेको छ। सिमरा कलेजलाई ४ वटा तथा जनता माध्यमिक विद्यालय, रजघट्टा माध्यमिक विद्यालय, डुमरवाना माध्यमिक विद्यालय र पथलैया माध्यमिक विद्यालयलाई जनही २/२ वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, सूर्य नेपालका प्रतिनिधि यज्ञबहादुर आले, उमेश थापा, विद्यालयका शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।



















