२० असार,काठमाडौं । सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा जिल्ला हुलाक कार्यालयमार्फत ५ हजार ७२८ थान राहदानी (पासपोर्ट) सेवाग्राहीको घरदैलोमै पुर्याएको जनाएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ अनुसार हुम्ला र भोजपुरबाहेकका ७५ जिल्लामा राहदानी वितरण सेवा सञ्चालन गरिएको हो। साथै राहदानी विभागबाट प्राप्त २ लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हुलाक सेवाको लागत र समय घटाउने उद्देश्यले डाँकरेखा पुनरावलोकन गरी लागू गरिएको छ। यसका कारण पोखराबाट पाल्पासम्म हुलाक सामग्री पुग्न लाग्ने समय १० दिनबाट घटेर दुई दिनमा सीमित भएको दाबी गरिएको छ।
सरकारले यही अवधिमा सात जिल्लाका १ हजार ८९ जना सेवाग्राहीको घरमै सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि वितरण गरेको जनाएको छ। कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा जिल्लामा यो सेवा उपलब्ध गराइएको हो।
यातायात व्यवस्था विभागबाट प्राप्त ८ लाख ८ हजार ३१ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको मन्त्रालयले जनाएको छ। साथै १६ असारसम्म २३ लाख ७५ हजार १८१ वटा लाइसेन्स छपाइ सम्पन्न भएको र नयाँ प्राप्त २१ लाख ७ हजार ९६८ आवेदनका लागि विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ।
यसैगरी, १७ वटा अस्पतालबाट संकलन गरिएका १ हजार २३३ वटा स्वास्थ्य प्रयोगशालाका नमुनाहरू सुरक्षित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पुर्याइएको मन्त्रालयले जनाएको छ।
सरकारले त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयसँगको सम्झौताअनुसार २६३ वटा शैक्षिक प्रमाणपत्र विद्यार्थीको घरमै पुर्याएको पनि जनाएको छ।
डिजिटल सेवा विस्तारअन्तर्गत देशभरका ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित ‘स्मार्ट हुलाक’का रूपमा विकास गर्न छनोट गरिएको मन्त्रालयले जनाएको छ।



















