२० असार,काठमाडौं । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा बढेसँगै बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढेको छ। मुक्तिनाथबाट फर्किने यात्रुहरू बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय र पञ्चकोटजस्ता स्थलमा आकर्षित हुन थालेका छन्।
कालीगण्डकी करिडोरमार्फत भैरहवाबाट मुक्तिनाथ पुग्ने सडक सञ्चालनमा आएपछि तथा पोखरा हुँदै आउने पर्यटक बागलुङतर्फ मोडिन थालेपछि यहाँका होटल तथा पर्यटन व्यवसायमा भारतीय पर्यटकको उपस्थिति बढ्दै गएको छ।
भारतबाट आएका तीर्थयात्रीहरूले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोट र कालीगण्डकी नदीमाथि बनेको लामो झोलुङ्गे पुलको भ्रमण गरी सामाजिक सञ्जालमार्फत प्रचारसमेत गरिरहेका छन्। तीर्थयात्री आशुतोष नमादले यी स्थललाई एउटै धार्मिक सर्किटका रूपमा विकास गर्नुपर्ने सुझाव दिएका छन्।
भारतको अयोध्याबाट आएका बालकृष्ण आचार्य शालीग्राम सङ्ग्रहालयबाट प्रभावित भएका छन्। उनले एकै ठाउँमा शालीग्रामको विशाल सङ्ग्रह अवलोकन गर्न पाउनु दुर्लभ अनुभव भएको बताए।
करिब १५० मिटर लामो सुरुङभित्र एक लाख १५ हजारभन्दा बढी शालीग्राम सुरक्षित रूपमा राखिएको उक्त सङ्ग्रहालय कालीगण्डकी नदीमा पाइने शिला संरक्षणका लागि स्थापना गरिएको हो। सङ्ग्रहालयमा वार्षिक करिब एक लाख पर्यटक आउने अनुमान गरिएको छ, जसमा ३० हजारभन्दा बढी भारतीय पर्यटक रहेको बताइन्छ।
तीर्थयात्रीहरूका लागि स्थानीय होटलसँगै मुक्तिनाथ वेद विद्याश्रम पाठशालामा समेत बसोबासको व्यवस्था मिलाइएको छ। धेरैजसो भारतीय पर्यटक सातदेखि १० दिनको नेपाल भ्रमण प्याकेजमा आउने र बागलुङमा एकदेखि डेढ दिन बिताउने गरेका छन्।
भारतको मायापुरका माधव हरिदासले शालीग्राम सङ्ग्रहालय भ्रमणलाई आध्यात्मिक रूपमा अविस्मरणीय अनुभव भनेका छन्। भारतका केरल, आन्ध्र प्रदेश र गुजरातबाट पनि उल्लेख्य संख्यामा तीर्थयात्री आउने गरेको जनाइएको छ।
पोखरा पर्यटन परिषद्का अनुसार भारतीय पर्यटकको आकर्षण बागलुङका धार्मिक तथा प्राकृतिक गन्तव्यप्रति बढ्दो छ। करिब पाँच सय वर्ष पुरानो बागलुङ कालिका मन्दिर र पञ्चकोट अहिले प्रमुख आकर्षण बनेका छन्।
गण्डकी प्रदेश सरकारले मुक्तिनाथ–बागलुङ–पञ्चकोट क्षेत्रलाई धार्मिक सर्किटका रूपमा विकास गर्ने योजना अघि सारेपछि स्थानीयस्तरमा उत्साह बढेको छ।
स्थानीय व्यवसायीहरूका अनुसार पर्यटक आगमन बढेसँगै होटल, यातायात तथा स्थानीय उत्पादनको मागसमेत वृद्धि हुँदै गएको छ। पर्यटनलाई स्थानीय समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरोकारवालाले पूर्वाधार र सेवा सुधारमा जोड दिएका छन्।
सरकार, निजी क्षेत्र र स्थानीय तहको समन्वयमा बागलुङलाई प्रमुख धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने प्रयास तीव्र हुँदै गएको छ।



















