Logo

२० असार,वीरगञ्ज ।  आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको समर्थनमा युवा भेला सम्पन्न भएको छ। आदर्शनगरस्थित त्रिशला होटलमा आयोजित भेलामा महानगरका विभिन्न वडाबाट करिब २२० जना युवा अगुवा तथा प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ।

रन्दीप श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले जेन–जि आन्दोलनको मर्म, सिद्धान्त र उद्देश्यलाई आत्मसात् गर्दै आगामी स्थानीय निर्वाचनमा सुधीर पटेललाई मेयर पदमा विजयी गराउन युवाहरू एकजुट भएर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जेन–जि पर्साका मुख्य सल्लाहकार बिरेन्द्र कण्ठले परिवर्तनका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै पटेलको पक्षमा जनस्तरसम्म व्यापक अभियान सञ्चालन गर्न आग्रह गरे।

भेलामा विभिन्न वडाका प्रतिनिधिहरूले वीरगञ्जमा नयाँ नेतृत्वको आवश्यकता औँल्याउँदै अवसरवादी राजनीति र व्यक्तिगत स्वार्थका लागि चुनावमा होमिने प्रवृत्तिको विरोध गरेका थिए। उनीहरूले विगतमा ठेकेदार तथा व्यापारी समूहको प्रभावमा नेतृत्व चयन हुँदै आएको उल्लेख गर्दै यसपटक परिवर्तनको पक्षमा जनमत सिर्जना हुने विश्वास व्यक्त गरे।

कार्यक्रमका उद्घोषक महादेव प्रसाद कुर्मीले जेन–जि आन्दोलनपछि देशमा परिवर्तनको वातावरण बनेको उल्लेख गर्दै अब स्थानीय तह निर्वाचनमार्फत पनि त्यही परिवर्तनको लहरलाई निरन्तरता दिनुपर्ने बताए। उनले वीरगञ्जलाई ठेकेदार तथा व्यापारी केन्द्रित राजनीतिक प्रभावबाट मुक्त गराउन सम्पूर्ण नगरवासीलाई अभियानमा सहभागी हुन आह्वान गरे।

भेलामा राम आर्य, महमुद अन्सारी, नितेश योगी, मुकेश राउत कुर्मी, सुरेश गुप्ता, सागिर अन्सारी (कावरवाला), अमर सराफ, अमित पटेल, विक्की सराफ र एम.डी. ओसामालगायतले मन्तव्य राख्दै आगामी स्थानीय निर्वाचनमा सुधीर पटेललाई विजयी गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष रन्दीप श्रीवास्तवले युवा शक्ति नै परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै आगामी निर्वाचनलाई लक्षित गरी संगठन विस्तार, जनसम्पर्क तथा घरदैलो अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिए।


सम्बन्धित समाचार