२० असार,काठमाडौं । इरानले दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि औपचारिक रूपमा सुरु गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि प्रक्रियाअघि ६ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ।
तेहरानस्थित ग्रान्ड मोसाल्लाको प्राङ्गणमा खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याइनुअघि नै हजारौँ शोकाकुल नागरिक भेला भएका थिए। एएफपीका अनुसार उपस्थित भीडले अमेरिकाविरुद्ध नाराबाजी गरेका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरिएको थियो।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दिवङ्गत नेताको अन्त्येष्टि आगामी जुलाई ९ मा उहाँको गृहशहर मशहदमा समापन हुनेछ।
यसअघि फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणका क्रममा ८६ वर्षीय खामेनीको ज्यान गएको बताइएको छ। उक्त आक्रमणमा उहाँकी श्रीमतीसहित परिवारका अन्य सदस्यको पनि मृत्यु भएको र छोरा मोज्तबा खामेनी घाइते भएको जनाइएको छ। अहिले मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको छ।
खामेनीले आफ्नो करिब ३६ वर्षे नेतृत्वकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाहजस्ता समूहमार्फत मध्यपूर्वमा प्रभाव विस्तार गर्नुभएको थियो। उहाँको नेतृत्वमा इरान क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्ति रूपमा स्थापित भएको मानिन्छ।



















