Logo

२० असार,काठमाडौं । नेपाल पत्रकार महासंघ नवलपरासी (पश्चिम) शाखाका अध्यक्ष केशव पराजुलीको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित पराजुलीको परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा ५७ वर्षको उमेरमा निधन भएको हो।

नेपाल पत्रकार महासंघ नवलपरासी (पश्चिम) का कार्यवाहक अध्यक्ष विकास अधिकारीका अनुसार लामो समयदेखि उपचाररत पराजुलीको स्वास्थ्यमा सुधार नआएपछि उनको निधन भएको हो।

पराजुली नेपाल पत्रकार महासंघ नवलपरासी (पश्चिम) शाखाको दोस्रो कार्यकालका अध्यक्ष थिए। उनले करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

उनको निधनप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखाले गहिरो दुःख व्यक्त गर्दै नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, सरल र समर्पित पत्रकार गुमाएको जनाएको छ।

मिलनसार र मिजासिलो स्वभावका पराजुलीका श्रीमती र दुई छोरी छन्। उनकाे निधनले नवलपरासीसहित समग्र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न सञ्चारकर्मी तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।


सम्बन्धित समाचार