२० असार, काठमाडौँ । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउन नयाँ प्रणाली (सिस्टम) लागू गर्ने अन्तिम तयारी गरेको छ । पुरानो प्रणालीबाट नयाँ प्रणालीमा डाटा स्थानान्तरण (माइग्रेसन) तथा प्राविधिक व्यवस्थापन गर्नुपर्ने भएकाले केही दिनका लागि देशभर र विदेशस्थित नियोगहरूबाट समेत राहदानी सेवा बन्द हुने विभागले जनाएको छ ।
विभागद्वारा जारी सार्वजनिक सूचना अनुसार जिल्ला प्रशासन कार्यालयहरू, इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सम्बन्धी आवेदन संकलन र वितरणको कार्य यही असार २४ गतेदेखि २६ गतेसम्म तीन दिनका लागि पूर्ण रूपमा बन्द हुनेछ ।
यसैगरी, काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग स्वयंले केन्द्रबाट प्रवाह गर्ने आकस्मिक तथा नियमित सेवाहरू भने असार २५ र २६ गते दुई दिनका लागि स्थगित गरिने सूचनामा उल्लेख छ ।
विभागले नयाँ प्रविधिसहितको प्रणालीलाई आगामी असार २७ गतेदेखि देशभर र विदेशमा समेत एकसाथ नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रणाली अपग्रेडको समयमा नागरिकमा पर्न जाने असुविधाप्रति विभागले क्षमा याचना गर्दै असार २७ गतेपछि राहदानी आवेदन र वितरण प्रक्रिया थप सहज, छिटो र सुरक्षित हुने विश्वास दिलाएको छ।



















