Logo

१९ असार,वीरगञ्ज ।  कुटपिट मुद्दामा अदालतले तोकेको जरिवाना रकम नतिरेको आरोपमा पक्राउ परेका पर्साको पकहाँमैनपुर गाउँपालिकाका पूर्वअध्यक्ष विजयकुमार चौरसिया अदालतमा १० हजार रुपैयाँ जरिवाना बुझाएपछि रिहा भएका छन्।

चौरसियालाई शुक्रबार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित पर्सा जिल्ला अदालत नजिकबाट नियन्त्रणमा लिएको थियो।

उनीविरुद्ध कुटपिट मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा जरिवाना नतिरेको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको थियो।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरका अनुसार पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी चौरसियालाई अदालतमा उपस्थित गराइएको थियो। अदालतमा उनले तोकिएको १० हजार रुपैयाँ जरिवाना बुझाएपछि अदालतको आदेशअनुसार रिहा गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए।

प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा चौरसियालाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरेको जनाएको छ।


सम्बन्धित समाचार