Logo

१९ असार,वीरगञ्ज । त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक (मेनरोड) क्षेत्रमा रहेका संरचना हटाउन शुक्रबारदेखि पुनः सञ्चालन गरिएको डोजर अभियान स्थानीयको विरोधपछि तत्कालका लागि रोकिएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर दुर्गाप्रसादका अनुसार संरचना हटाउने क्रममा स्थानीयले अवरोध सिर्जना गरेपछि उत्पन्न विवादका कारण डोजर अभियान तत्कालका लागि स्थगित गरिएको हो।

पहिलो चरणमा गत वैशाख ६ र ७ गते सडक विभागले सडक सीमाभित्र पर्ने संरचनामा डोजर चलाएको थियो। त्यसपछि करिब अढाई महिनादेखि रोकिएको सडक विस्तारको काम शुक्रबारदेखि पुनः सुरु गरिएको थियो।

सडक विभागले पहिलो चरणमा सडकको दायाँ–बायाँ २५/२५ मिटर सीमा क्षेत्रभित्र पर्ने घर, भवन तथा अन्य संरचनामा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो। त्यसपछि सम्बन्धित घरधनीलाई २५ दिनभित्र बाँकी संरचना स्वयं हटाउन आग्रह गरिएको थियो। तर अधिकांशले संरचना नहटाएपछि विभागले पुनः डोजर परिचालन गरी बाँकी संरचना हटाउने कार्य सुरु गरेको जनाएको छ।

यसअघि असार २ गते सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै पाँच दिनभित्र सडक सीमा क्षेत्रभित्र रहेका संरचना स्वयं हटाउन आग्रह गरेको थियो। अन्यथा सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षणअन्तर्गत विभागले आफैं हटाउने चेतावनी दिएको थियो।

सडक विभागका अनुसार वैशाख ६ र ७ गते गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा दायाँ–बायाँ २५/२५ मिटर सीमाभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनमा डोजर चलाएर आंशिक रूपमा भत्काइएको थियो। त्यसयता केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै हटाइएको छैन।

उता, सडक विस्तारको विरोध गर्दै मेनरोड क्षेत्रका घरधनीहरू वैशाखदेखि नै आन्दोलनमा छन्। उनीहरूले मेनरोडलाई शहरी मार्गका रूपमा कायम गर्नुपर्ने तथा हालको सडक विस्तार योजना स्थगित गर्नुपर्ने माग राख्दै आएका छन्।

स्थानीयको विरोध र सडक विभागको सडक सीमा संरक्षण अभियानबीच मेनरोड विस्तारको विषय अझै विवादित बनेको छ।


सम्बन्धित समाचार