१९ असार, काठमाडौं । शिक्षा क्षेत्रमा व्याप्त दलीय हस्तक्षेपलाई तत्काल अन्त्य गर्नुपर्ने नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जोड दिएका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले विद्यालय व्यवस्थापन समितिदेखि शिक्षक नियुक्तिसम्म हुने दलीय प्रभावले मुलुकको शैक्षिक जग धराशायी बनेको भन्दै चिन्ता व्यक्त गरे । ‘फलानो विद्यालयको शिक्षक वा समितिका पदाधिकारी हाम्रै मान्छे हुन्’ भन्ने संकीर्ण सोचबाट राजनीतिक दलहरू बाहिर निस्कनुपर्ने उनको भनाइ छ ।
यद्यपि, शिक्षा आफैँमा एउटा महत्त्वपूर्ण राजनीतिक एजेन्डा भएको उल्लेख गर्दै उनले समुन्नत नेपाल निर्माणका लागि शिक्षाले खेल्न सक्ने भूमिकाबारे गम्भीर बहसको आवश्यकता औँल्याए ।
शिक्षा क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गरी यसलाई राष्ट्रको विकास र समृद्धिको संवाहकका रूपमा कसरी स्थापित गर्ने भन्ने विषयमा राजनीतिक वृत्तमा पर्याप्त छलफल र लक्ष्य निर्धारण गर्नुपर्ने थापाले बताए । शिक्षा सुधारका लागि दलीय स्वार्थभन्दा माथि उठेर समग्र राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।



















