Logo

१९ असार, काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ गैराखानमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् ।

धनगढीबाट बैतडीतर्फ गइरहेको ‘सुपप्र ०१००१ ख ३९६३’ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको हो । दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवन तिमल्सिनाका अनुसार, दुर्घटनाको मुख्य कारण हालसम्म खुलेको छैन । घटनाको प्रकृति हेर्दा सवारी साधन प्राविधिक कारणले वा चालकको असावधानीका कारण दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ । हाल प्रहरीले दुर्घटनाको विस्तृत विवरण संकलन गर्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।


सम्बन्धित समाचार