१९ असार,वीरगञ्ज ।वीरगञ्जमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ। छुट्टाछुट्टै चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले शुक्रबार दिउँसो वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ४० प ९१६० नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २५ वर्षीय अरविन्द ओझा र २८ वर्षीय मुकेश कुशवाहाको साथबाट ३३० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि दुवै जनालाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, बिहीबार राति सोही स्थानमा नियमित चेकजाँचका क्रममा रक्सौलबाट पैदल वीरगञ्ज आउँदै गरेका पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझपटीका २२ वर्षीय राजन साहलाई १६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।



















