२६ असार, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा काठमाडौं महानगरपालिकाका तीन नगर प्रहरी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटनाको अनुसन्धानका लागि दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिई कालीमाटी वृत्तमा राखेर सोधपुछ सुरु गरिएको छ ।
राइड सेयरिङ सेवामा आबद्ध नेपालीले बिहीबार दिउँसो आफ्नो मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि भएको विवादका क्रममा आफैंमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
गम्भीर घाइते अवस्थामा वीर अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा आज निधन भएको हो । यस दुःखद घटनासँगै महानगर प्रहरीको कार्यशैली र ह्विल लकको प्रक्रियालाई लिएर प्रहरीले गम्भीर अनुसन्धान अगाडि बढाएको छ ।



















