२६ असार, काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको घटनालाई लिएर संसद्मा सरकारविरुद्ध कडा आक्रोश पोखिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै कडा आलोचना गरेका छन् । एमाले सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्युलाई सामान्य रूपमा लिन नहुने भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेकी छन् । साथै, उनले राज्यले लिने ट्राफिक जरिवानाको प्रक्रिया कति उचित छ भन्ने कुरा नेपालीको पीडालाई हेरेर समीक्षा गर्न सरकारलाई आग्रह गरेकी छन् ।
यसैगरी, नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनाप्रति सरकार मूकदर्शक बनेको भन्दै प्रधानमन्त्रीप्रति तीखो टिप्पणी गरेकी छन्। सांसद थापाले शरीरमा आगो लगाउँदा उद्धार गर्नुको साटो प्रहरीले आपराधिक व्यवहार प्रदर्शन गरेको र एम्बुलेन्स समेत नपठाएको भन्दै सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन् ।
उनले वर्तमान सरकार जनताको ज्यान जोगाउनुको सट्टा सामाजिक सञ्जालमा लोकप्रियता र ‘लाइक’ बढाउन केन्द्रित रहेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई लक्षित गरी ‘अब कालो चस्मा खोल्ने बेला आएको छ’ भन्दै चेतावनी दिएकी छन् ।
सुकुम्बासी बस्तीको उठीबासदेखि पछिल्ला आत्महत्याका घटनाहरूसम्मको प्रसङ्ग जोड्दै थापाले राज्यको संवेदनशीलता र नागरिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेकी छन् ।



















