२६ असार, काठमाडौं । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर सरकारविरुद्ध चर्को आक्रोश व्यक्त गरिएको छ ।
राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन शाहलाई तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् ।
शून्य समयमा बोल्दै सांसद विश्वकर्माले घटनाको समयमा आगोमा जलिरहेका नेपालीलाई उद्धार गर्नुको साटो अपराधी सरह घिसारेर लगेको भन्दै प्रहरी प्रशासनको कडा आलोचना गरेका छन् ।
उनले घटनामा संलग्न ट्राफिक र नगर प्रहरीमाथि कडा कारबाहीको माग गर्दै यो सरकार क्रुर भएको आरोप लगाएका छन् । यदि सरकारमा थोरै पनि नैतिकता बाँकी छ भने प्रधानमन्त्री शाहले पद त्यागेर सडकमा आउनुपर्ने उनको कडा टिप्पणी थियो ।



















