Logo

२६ असार, काठमाडौं । गणेश नेपालीको आत्मदाह र तत्पश्चात् भएको निधनलाई लिएर संसद्मा भइरहेको राजनीतिक आरोप(प्रत्यारोप र भावुक बहसबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने यो विषयलाई वस्तुगत रूपमा हेर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै रास्वपा सांसदहरू गणेश कार्की र जगदीश खरेलले उक्त दुःखद घटनालाई राजनीतिक ‘स्टन्ट’ वा भावनात्मक बहसको मुद्दा मात्र नबनाई मुलुकमा बढ्दो आत्महत्याको दर र मानसिक स्वास्थ्यको गम्भीर समस्यातर्फ केन्द्रित हुन आग्रह गरेका हुन् ।

सांसद गणेश कार्कीले यो घटनालाई लिएर संसद्मा भइरहेको औपचारिकता र नामसमेत थाहा नपाई गरिने बहसप्रति असन्तुष्टि जनाए। मान्छेको जीवन गुम्नु अत्यन्तै दुःखद रहेको र यसलाई कुनै पनि तर्कले सही ठहराउन नसकिने बताउँदै उनले भने, ‘यो देशमा दैनिक १८ जनाले आत्महत्या गरिरहेका छन्, र झन्डै ८० जनाले दैनिक आत्महत्याको प्रयास गरिरहेका छन् ।

‘उनले यस्ता घटनाहरू सामाजिक, मनोसामाजिक र मानसिक स्वास्थ्यसँग जोडिएका जटिल विषय भएको उल्लेख गर्दै, यस्ता घटना दोहोरिन नदिन कानुन बनाउने थलो संसद्ले नै गम्भीर छलफल र नीतिगत सुधारमा जोड दिनुपर्ने बताए ।

त्यसैगरी, अर्का सांसद जगदीश खरेलले पनि उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै सरकारलाई घटनाको गहिराईसम्म पुगेर सत्यतथ्य छानबिन गर्न आग्रह गरे । उनले नेपालमा वार्षिक करिब सात हजारले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मुलुकको झन्डै ७० लाख जनसंख्या कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको तथ्य औँल्याए ।

सांसद खरेलले प्रश्न गरे, ‘हामीलाई तनाव हुँदा के हामी काउन्सिलिङका लागि मानसिक अस्पताल जान्छौँ?’ उनले अबको बहस कानुन र संरचनाहरूमा मानसिक स्वास्थ्यको मुद्दालाई प्राथमिकताका साथ समेट्नुपर्ने र यसका लागि सरकार एवं सम्बन्धित निकायले तुरुन्तै गम्भीर कदम चाल्नुपर्ने प्रस्ताव गरे ।


सम्बन्धित समाचार