Logo

२६ असार, काठमाडौं । मुगुका गणेश नेपालीको दुखद निधनपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने प्रयास गरेका छन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका २५ वर्षीय नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएपछि सो घटनाको विरोधमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् । वीर अस्पतालबाट सुरु भएको प्रदर्शनकारीहरूको जुलुस सुन्धारा हुँदै महानगरपालिकाको पुरानो कार्यालय घेराउ गर्न अगाडि बढिरहेको थियो ।

प्रदर्शनकारीहरू आक्रोशित रूपमा अगाडि बढिरहेका बेला सुन्धारा क्षेत्रमा तैनाथ प्रहरीले उनीहरूलाई घेराउ गर्दै रोकेको छ । घटनाको गम्भीरता र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी भीडलाई नियन्त्रणमा लिएको छ ।

राइड सेयरिङमार्फत जीविकोपार्जन गर्दै आएका नेपालीले आफ्नो मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाएपछि उत्पन्न तनावका कारण उक्त कठोर कदम चालेको बताइन्छ । अहिले सो क्षेत्रमा तनावको स्थिति कायमै छ र प्रदर्शनकारीहरूले न्यायको माग गर्दै नाराबाजी गरिरहेका छन् ।


सम्बन्धित समाचार