२६असार,काठमाडौं । आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ।
वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागसँग समन्वय भइरहेको छ। आवश्यक प्रक्रिया पूरा भएपछि शव पोस्टमार्टमका लागि पठाइने उनले जानकारी दिए।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित एक कार्यक्रम अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।
डा. बुढाथोकीका अनुसार घटनाको कानुनी प्रक्रिया पूरा गर्न पोस्टमार्टम गरिन लागिएको हो। मृतकका आफन्तहरूले भने समाचार तयार पार्दासम्म शव बुझेका छैनन्।
यता, गणेश नेपालीको मृत्यु भएपछि काठमाडौंको माइतीघर, भद्रकाली र वीर अस्पताल परिसरमा प्रदर्शनसमेत भएको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा जिम्मेवार पक्षमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।
घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



















