२६ असार, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि त्रासको पर्याय बनेको ‘ध्रुवे’ हात्तीलाई नियन्त्रणमा लिने प्रयास अझै सफल हुन सकेको छैन ।
हालसम्म २५ जनाको ज्यान लिइसकेको यो जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो पटक गत शनिबार भरतपुर महानगरपालिका–२३ मा एक आमा र चार वर्षीय छोराको मृत्यु भएपछि निकुञ्ज प्रशासनले उसलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने निर्णय गरेको थियो ।
सोही योजनाअनुसार निकुञ्जले २५ जना अनुभवी जनशक्तिको टोली परिचालन गरेर हात्तीलाई ‘डार्ट’ (औषधि प्रयोग गरी बेहोस बनाउने प्रविधि) गर्न खोजे पनि ध्रुवे फेला पर्न सकेको छैन ।
विसं २०७४ मा नेपाली सेनाका मेजरको ज्यान लिएको ध्रुवेले नौ वर्षको अन्तरालपछि पुनः दुई आमाछोराको ज्यान लिएसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाका अनुसार, हात्तीलाई सुरक्षित तवरले नियन्त्रणमा लिई दाह्रा काट्ने तयारी गरिएको भए पनि उसको चलाखीपूर्ण गतिविधिले प्राविधिक टोलीलाई चुनौती थपेको छ । निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाइरहेको यो हात्तीलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिन अहिले विशेष खोजी अभियानलाई तीव्रता दिइएको छ ।



















