Logo

२६ असार,वीरगञ्ज । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च गरेको छ। अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारको ४६ अर्ब ९८ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको हो।

मन्त्रालयका अनुसार चालु खर्चतर्फ विनियोजित १५ अर्ब ६४ करोड रुपैयाँमध्ये ९ अर्ब ४९ करोड रुपैयाँ अर्थात् ६०.६९ प्रतिशत खर्च भएको छ। यस्तै, पुँजीगततर्फ विनियोजित ३१ अर्ब ३४ करोड रुपैयाँमध्ये १६ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ५४.१२ प्रतिशत बजेट खर्च भएको छ।

खर्च विवरणले आर्थिक वर्षको अन्तिम चरणमा प्रदेश सरकारको खर्च गर्ने गति उल्लेखनीय रूपमा बढेको देखाएको छ। जेठ १३ गतेसम्म प्रदेश सरकारले कुल ८ अर्ब ७६ करोड रुपैयाँ अर्थात् १८.६४ प्रतिशत मात्रै बजेट खर्च गरेको थियो। त्यसयता करिब डेढ महिनाको अवधिमा थप १७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भई असार २६ गतेसम्म कुल खर्च २६ अर्ब ४६ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा बजेट कार्यान्वयनको गति तीव्र बनेको भए पनि कुल बजेटको करिब ४४ प्रतिशत रकम भने अझै खर्च हुन बाँकी रहेको देखिएको छ।


सम्बन्धित समाचार