Logo

Untitled design – 1

२६ असार, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक बनेको छ ।

वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकाले चिकित्सकहरूले उनको अवस्थालाई ‘क्रिटिकल’ भनेका छन् ।

प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष टोली उनको उपचारमा खटिएको छ । अस्पतालका अनुसार, बिरामीको अवस्था पटक–पटक अस्थिर भइरहेकाले तत्कालका लागि उनलाई उपचारका लागि भारत लैजान सम्भव छैन, अहिलेको प्रमुख प्राथमिकता बिरामीलाई स्थिर बनाउनु नै रहेको छ ।

यसैबीच, उक्त हृदयविदारक घटनापछि काठमाडौं महानगरपालिकाको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । बाइकमा ह्वील लक लगाउँदाको प्रक्रिया र घटनापश्चात् महानगर प्रहरीले देखाएको उदासीनताको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, भद्रकालीले महानगरका पाँच जना प्रहरीलाई सोधपुछका लागि झिकाएको छ ।

प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, पार्किङमा ह्वील लक लगाउने क्रममा भएको विवाद र आगो लगाउँदाको समयमा महानगर प्रहरीले देखाएको व्यवहारबारे बुझ्न दुई महिलासहितका कर्मचारीहरूलाई बोलाइएको हो । घटनामा महानगर प्रहरीको भूमिका र मृतकको अवस्थाबारेका यी दुई समानान्तर अपडेटले सार्वजनिक वृत्तमा थप बहस र चासो उत्पन्न गराएका छन् ।


सम्बन्धित समाचार
भर्खरै