२६ असार, काठमाडौँ । ‘राष्ट्रिय समाचार समिति’ (रासस) ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि देशैभरका जिल्ला, स्थानीय तह र प्रादेशिक राजधानीहरूमा ठुलो सङ्ख्यामा स्थानीय समाचारदाता र फोटो पत्रकारहरू नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै संघीय राजधानी काठमाडौँ उपत्यका बाहेकका ७४ जिल्लामा प्रति जिल्ला एक–एक जना स्थानीय समाचारदाता माग गरेको हो ।
यस्तै, उपत्यकाका तीन जिल्लाका लागि काठमाडौँमा ६ जना समाचारदाता र ४ जना फोटो पत्रकार, ललितपुरमा २ जना समाचारदाता र १ जना फोटो पत्रकार तथा भक्तपुरमा १ जना समाचारदाता र १ जना फोटो पत्रकार नियुक्त गरिने जनाइएको छ ।
यसैगरी, कोशीदेखि सुदूरपश्चिमसम्मका सातवटै प्रदेशका राजधानीहरू क्रमशः विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, देउखुरी, वीरेन्द्रनगर र धनगढीमा समेत १–१ जना स्थानीय समाचारदाता र १–१ जना फोटो पत्रकारका लागि नयाँ दरबन्दी खुला गरिएको छ ।
राससले यसपटकको सञ्चारकर्मी नियुक्ति प्रक्रियामा राज्यको समावेशी सिद्धान्तलाई पूर्ण रूपमा आत्मसाथ गर्ने स्पष्ट पारेको छ । सूचनाअनुसार योग्य उम्मेदवारहरूमध्ये महिला, मधेसी, दलित, अल्पसङ्ख्यक, आदिवासी जनजाति र पछाडि पारिएका वर्ग तथा समुदायका आवेदकलाई विशेष प्राथमिकता दिइनेछ । साथै, आधुनिक सञ्चार प्रविधिको मागअनुसार टेक्स्टसँगै अडियो र भिडियोसमेत उत्पादन गर्न सक्ने मल्टिमिडियामा दख्खल भएका उम्मेदवारले छनोटमा अतिरिक्त प्राथमिकता पाउनेछन् ।
आवेदकहरूको न्यूनतम शैक्षिक र व्यावसायिक योग्यताको हकमा पत्रकारिता विषय लिई प्रवीणता प्रमाणपत्र तह (१०+२) उत्तीर्ण गरी कम्तीमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ भने एसएलसी वा एसईई उत्तीर्णको हकमा ५ वर्षको अनुभव अनिवार्य गरिएको छ। त्यसैगरी, कुनै पनि सङ्कायमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरी पत्रकारितामा कम्तीमा एक वर्षको कार्यअनुभव भएका उम्मेदवारले समेत आवेदन दिन सक्नेछन् ।
संस्थाले फौजदारी वा कुनै पनि नैतिक पतन देखिने अपराधमा अदालतबाट सजाय नपाएको स्वच्छ छवि भएको व्यक्ति हुनुपर्ने सर्तसमेत अघि सारेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आफूले काम गर्न चाहेको सम्बन्धित जिल्ला, उपत्यका वा प्रदेश राजधानी स्पष्ट खुलाई निवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, पत्रकारितासम्बन्धी तालिम र कार्यअनुभवको प्रमाणपत्रका साथै आफ्नो अद्यावधिक व्यक्तिगत विवरण (बायोडाटा) बुझाउनुपर्नेछ ।
आवेदन दिने अन्तिम समयावधि सूचना प्रकाशित भएको मिति (२०८३ असार २६ गते) ले ७ दिनभित्र अर्थात् आगामी २०८३ असार मसान्तभित्र तोकिएको छ । तोकिएको म्यादभित्र प्राप्त आवेदनहरूमध्येबाट योग्य पत्रकारहरूलाई सर्टलिस्ट गरी छनोट प्रक्रिया अगाडि बढाइने राससले जनाएको छ ।




















