Logo

२६ असार, काठमाडौँ । विश्वकै प्रमुख जुत्ता उत्पादन केन्द्र मानिने चीनको फुजियान प्रान्तस्थित सिन्जियाङ शहरको एक जुत्ता कारखानामा बिहीबार आगलागी भएको छ। आगलागीमा परेर कम्तीमा २८ जना श्रमिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेको भिडियो फुटेजहरूमा कारखानाको विशाल भवनबाट आगो र धुवाँको मुस्लो निस्किएको देखिन्छ । आगलागी हुँदा कारखानाभित्र काम गरिरहेका केही श्रमिकहरू ज्यान जोगाउन भवनको छतमा फसेका दृश्यहरू देखिएका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै उद्योगभित्र अझै धेरै मानिस फसेको हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सङ्केत गरेका छन्। उनले खोजी र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

फुजियान प्रान्तमा अवस्थित सिन्जियाङ शहरलाई चीनको ‘जुत्ता राजधानी’ भनिन्छ। विश्वभर प्रयोग हुने जुत्तामध्ये झन्डै २० प्रतिशत जुत्ता यही एउटै शहरमा उत्पादन हुने गर्दछ । विश्वकै ठुलो औद्योगिक केन्द्रमा भएको यो आगलागीले चीनको औद्योगिक सुरक्षा मापदण्डमाथि  प्रश्न खडा गरिदिएको छ।

सरकारी टेलिभिजन सीसीटीभीका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो ठीक १२ बजे त्यहाँस्थित ‘हुइटेङ फुटवेयर’ कारखानाको तल्लो तलाबाट अचानक आगो सल्किन सुरु भएको थियो । खाजा खाने समय भएकाले कतिपय कामदारहरू भित्रै आराम गरिरहेका बेला आगो सल्किएकाले मानवीय क्षति बढी भएको अनुमान छ ।

आगलागी नियन्त्रण र भवनभित्र फसेकाहरूको उद्धारका लागि चीन सरकारले तत्काल अत्याधुनिक उपकरणसहित ५०० भन्दा बढी विशेष उद्धारकर्मी र अग्निनियन्त्रकहरू घटनास्थलमा परिचालन गरेको थियो । आगोलाई नियन्त्रणमा लिई भवनभित्र फसेकाहरूको खोजी कार्य अझै जारी छ । आगलागीको यकिन कारण भने अझै खुल्न सकेको छैन र यसबारे उच्चस्तरीय छानबिन टोली गठन गरिएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।


सम्बन्धित समाचार