२६ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी सडक विस्तारका क्रममा निस्किएको मलबाले नाला जाम भएपछि शुक्रबार रातिको वर्षापछि सहरका विभिन्न मुख्य चोक जलमग्न भएका छन्। मुडली, त्रिमूर्ति चोक, छपकैया इदगाह चोक, पिपरा चोकलगायतका क्षेत्रमा पानी जम्दा सर्वसाधारणको आवागमन प्रभावित भएको छ।
महानगरपालिकाका अनुसार सडक विस्तारका क्रममा भत्काइएका घरबाट निस्किएको ढुङ्गा, इँटा र माटो समयमै व्यवस्थापन हुन नसक्दा नालामा थुप्रिएको थियो। त्यसकै कारण वर्षाको पानीको निकास अवरुद्ध भई विभिन्न स्थानमा डुबानको समस्या देखिएको हो।
जलजमाव भएपछि वीरगञ्ज महानगरपालिकाले शुक्रबार बिहानैदेखि पानी निकास खुलाउन ‘एक्सन टिम’ परिचालन गरेको छ। एक्सन टिमका संयोजक सरफुदिन मियाँको नेतृत्वमा प्राविधिक तथा सरसफाइ कर्मचारीहरू प्रभावित क्षेत्रमा खटिएका छन्।
महानगरले नाला सफाइ तथा पानी निकासका लागि तीन वटा एक्साभेटर, आधा दर्जन ट्याक्टर र एक दर्जनभन्दा बढी सरसफाइकर्मी परिचालन गरेको जनाएको छ।
संयोजक मियाँका अनुसार नालामा जम्मा भएको मलबाका कारण पानीको बहाव अवरुद्ध हुँदा रातभर परेको वर्षाको पानी सहज रूपमा बग्न सकेन। प्रभावित क्षेत्रमा नाला सफाइ र अवरुद्ध पानीको निकास खुलाउने काम तीव्र गतिमा भइरहेको उनले बताए।
सडक विस्तारसँगै सडक किनारमा थुप्रिएको मलबा तथा छरिएका विद्युत् र इन्टरनेटका तारका कारण सहरवासीले थप सास्ती भोगिरहेका छन्। हिलो, जलजमाव र अव्यवस्थित पूर्वाधारका कारण दैनिक आवागमनसमेत प्रभावित बनेको छ।
वीरगञ्ज महानगरपालिकाले नाला सफाइलाई तीव्रता दिँदै पानीको सहज निकास सुनिश्चित गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको जनाएको छ। साथै, सडक विस्तारका क्रममा निस्किएको मलबाको व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अघि बढाइएको महानगरले जनाएको छ।



















