३१असार,वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले वीरगञ्जमा सञ्चालन गरेको दुई छुट्टाछुट्टै कारबाहीमा भन्सार छली गरी ल्याइएका विभिन्न सामान तथा अवैध रूपमा भारततर्फ लैजान लागिएको ठूलो परिमाणको स्याउ बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ फुलबारी टोलस्थित उषा अधिकारीको तीनतले पक्की घरमा खानतलासी गरेको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहित संयुक्त रूपमा खानतलासी गरेको हो।
खानतलासीका क्रममा घरका ११ वटा कोठाबाट भारतबाट भन्सार छली गरी ल्याइएका २ हजार ८४८ मिटर टेबल पोस, १३ थान रेडिमेड टेबल पोस र ३५ प्याकेट एयर कन्डिसनर स्ट्यान्ड बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामानको अनुमानित मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैगरी, असार ३० गते राति करिब ९ बजे वीरगञ्ज महानगरपालिका–१६ भन्सार टोल क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको ३३ कार्टुन अर्थात् ६२० किलोग्राम स्याउ सशस्त्र प्रहरीले बरामद गरेको छ।
सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट खटिएको गाडी मोबाइल टोलीले सीमा क्षेत्रमा निगरानी गर्ने क्रममा उक्त स्याउ फेला पारेको हो। बरामद स्याउको अनुमानित मूल्य ६३ हजार ५०० रुपैयाँ रहेको जनाइएको छ।
बरामद स्याउलाई आवश्यक कारबाहीका लागि असार ३१ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको छ। उनले यस्ता गतिविधिविरुद्ध नियमित रूपमा अपरेशन जारी रहने बताए।



















