Logo

३१असार,वीरगञ्ज । वीरगञ्जमा भोलि निकालिने श्री गहवामाईको विशाल रथयात्रालाई सुरक्षित, व्यवस्थित र अवरोधरहित रूपमा सम्पन्न गर्न तयारीका कामहरू तीव्र पारिएको छ। रथयात्राका क्रममा कुनै अवरोध वा जोखिम नआओस् भन्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकाको विद्युत् शाखाले शहरका विभिन्न स्थानमा रहेका विद्युत् तार व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ।

रथयात्राको मार्गमा सडक माथि रहेका अव्यवस्थित विद्युत् तारका कारण सम्भावित जोखिम हुन सक्ने भएकाले तारहरूको व्यवस्थापन, उचाइ मिलाउने तथा आवश्यक मर्मतसम्भारको काम भइरहेको महानगरपालिकाले जनाएको छ।

वीरगञ्ज महानगरपालिका विद्युत् शाखाका कर्मचारी तथा प्राविधिक टोलीले सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न स्थानमा पुगेर विद्युत् तारको अवस्था निरीक्षण गर्दै व्यवस्थापनको काम गरिरहेका छन्। विशेषगरी रथको आवतजावत हुने मुख्य मार्गमा रहेका तारहरूलाई व्यवस्थित बनाउने, झुकेका तारलाई माथि उठाउने र जोखिमयुक्त स्थानमा आवश्यक सुधार गर्ने काम भइरहेको छ।

श्री गहवामाईको रथयात्रा वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले ठूलो संख्यामा श्रद्धालु तथा सर्वसाधारणको सहभागिता हुने गर्दछ। यसलाई मध्यनजर गर्दै महानगरले यातायात, सरसफाइ, सुरक्षा र विद्युत् व्यवस्थापनलगायतका तयारीलाई तीव्रता दिएको छ।

महानगरपालिकाले रथयात्राका क्रममा विद्युत् संरचनाबाट हुन सक्ने सम्भावित दुर्घटना रोक्न तथा श्रद्धालुहरूको सुरक्षालाई ध्यानमा राख्दै विद्युत् तार व्यवस्थापनको कामलाई प्रभावकारी रूपमा अघि बढाइएको जनाएको छ।

सम्बन्धित निकायबीचको समन्वयमा भइरहेको यस कार्यले रथयात्रालाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार