३१ असार, काठमाडौं । धितोपत्र बजारको सन्तुलन मिलाउन र लगानीकर्ताको हितलाई सुरक्षित गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ठूलो नीतिगत सुधारको तयारी थालेको छ ।
बजारमा सेयरको माग र आपूर्तिबीच सन्तुलन कायम राख्ने उद्देश्यले बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को लकइन अवधि र बाँडफाँट सम्बन्धी विद्यमान व्यवस्थालाई पुनरावलोकन गर्ने निर्णय गरेको हो ।
पूँजी बजारलाई थप परिपक्व र सुरक्षित बनाउनका लागि नयाँ रणनीतिसहित अघि बढ्न लागिएको सेबोनले स्पष्ट पारेको छ।
अहिलेको पूँजी बजार विकासको एउटा महत्वपूर्ण मोडमा रहेको औंल्याउँदै बोर्डले प्रविधिको प्रयोग, संस्थागत विकास र लगानीकर्ताको पहुँच विस्तारमा केही उपलब्धि हासिल भएको जनाएको छ ।
तर, बजारको आकार, वित्तीय साधनहरूको विविधता र संस्थागत लगानीकर्ताको भूमिकालाई अझ बलियो बनाउन बाँकी नै छ । त्यसैले, विशेषगरी उत्पादनमूलक क्षेत्रलाई बजारसँग जोड्न र सर्वसाधारण लगानीकर्ताको हितलाई केन्द्रमा राख्न बोर्डले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई समयतालिका बनाएर कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरी, पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी आईपीओ ९क्ष्एइ० निष्काशन हुनुभन्दा अगाडि नै संगठित संस्थाहरूले अवैध रूपमा पूँजी संकलन गर्ने प्रवृत्ति बढेको प्रति बोर्डले गम्भीर चासो देखाएको छ। यस्ता गतिविधिहरूलाई पूर्ण रूपमा नियन्त्रण र नियमन गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने सेबोनले बताएको छ ।
यसका साथै, सेयर कारोबार गर्दा लगानीकर्ताले बेहोर्नुपर्ने खर्चलाई कम गर्न प्राथमिक र दोस्रो बजार दुवैको कारोबार शुल्क (कमिसन) पुनरावलोकन गरी घटाउने तयारी समेत बोर्डले गरेको छ ।



















