३१ असार, काठमाडौँ ।रौतहटमा आत्मदाहको प्रयास गरेका गौतमकुमार सहनीको वीर अस्पतालमा उपचार जारी छ ।
सहनीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको जलन विशेषज्ञ डा।अपार लामिछानेको नेतृत्वमा आईसीयूमा उपचार भइरहेको वीर अस्पतालका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताउनु भएको छ ।
मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यका अनुसार गौतम केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।
घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा पुर्याएका थिए। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। घटनाको जानकारी अस्पतालबाट बिहान करिब ४ बजे प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट असई मनोज दासको नेतृत्वमा टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो । बिहान सवा चार बजे उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सहनी गरुडा बजारस्थित झाझ पुलनजिक एउटा सानो छाप्रे होटल सञ्चालन गर्दै आएका थिए । सोही व्यवसायबाट उनले आफ्नो परिवार तथा तीन छोराको पालनपोषण गर्दै आएका थिए।



















