३१असार,वीरगञ्ज । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको र सार्वजनिक जग्गा अतिक्रमण गरेको गुनासो बढेपछि गृहमन्त्री सुधन गुरुङले स्थलगत अनुगमन गरेका छन् ।
गृहमन्त्री गुरुङले करिडोरमा रहेका जगदम्बा स्टिल, हुलास स्टिल लगायतका विभिन्न उद्योगहरूको स्थलगत निरीक्षण गर्दै वस्तुस्थिति बुझेका हुन् । स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दासहित अनुगमनमा पुगेका मन्त्रीसमक्ष स्थानीयहरूले उद्योगका कारण सिर्जित समस्याहरूको चाङ राखेका थिए ।
अनुगमनका क्रममा स्थानीय बासिन्दाले उद्योगहरूले न्यूनतम वातावरणीय मापदण्ड समेत पालना नगर्दा औद्योगिक धुलो, धुवाँ र फोहोर सिधै बस्तीमा पुगेको गुनासो गरे । वायु प्रदूषणका कारण आसपासका क्षेत्रमा श्वासप्रश्वाससम्बन्धी रोग, आँखा पोल्ने समस्या लगायतका स्वास्थ्य जटिलता बढ्दै गएको उनीहरूको भनाइ थियो ।
स्वास्थ्य संकटका अतिरिक्त स्थानीयहरूले भूमाफिया र उद्योगीहरूको मिलेमतोमा सार्वजनिक सम्पत्ति हडपिएको विषयमा समेत गृहमन्त्रीको ध्यानाकर्षण गराए । केही उद्योगहरूले राष्ट्रिय वन क्षेत्र, ऐलानी जग्गा, सार्वजनिक पुल–पुलेसा क्षेत्र र नेपाल रेल्वेको पुरानो मार्ग समेत अतिक्रमण गरी उद्योगको स्वामित्वमा पारेको आरोप स्थानीयको छ । उनीहरूले रेल्वेको जग्गा अतिक्रमणको वास्तविक अवस्था छानबिन गर्न माग गरे ।
स्थानीयका गुनासा र माग सुनेपछि गृहमन्त्री सुधन गुरुङले सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय मापदण्ड पालनामा कुनै पनि बहानामा लापरबाही स्वीकार्य नहुने स्पष्ट पारे । उनले प्राप्त गुनासाहरूका आधारमा सम्बन्धित निकायहरू मार्फत विस्तृत र तथ्यगत अध्ययन गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
अनुगमनमा सहभागी स्थानीयले उद्योग सञ्चालनका नाममा भइरहेको प्राकृतिक र सार्वजनिक सम्पत्तिको दोहनमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।



















