Logo

१ साउन,वीरगञ्ज । महोत्तरीको बलवा नगरपालिका–६ का वडाध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता भएको छ।

बलवा नगरपालिका–६ निवासी ३६ वर्षीय इन्जिनियर हुसनैन अन्सारीमाथि ज्यान लिने उद्देश्यले आक्रमण गरी गम्भीर घाइते बनाएको आरोपमा उनका दाजु ३९ वर्षीय नुरैन अन्सारीले प्रहरीमा जाहेरी दिएपछि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीका अनुसार संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरअन्तर्गत बलवा बजारदेखि रौजा बजार हुँदै पडौलसम्म निर्माणाधीन हुलाकी सडक आयोजनाको ४१२ मिटर आरसीसी ढलानको काम भइरहेका बेला देवनामा क्षेत्रमा उत्पन्न विवादका क्रममा इन्जिनियर अन्सारीमाथि आक्रमण भएको थियो।

आक्रमणबाट अन्सारीको हातको एउटा औँला काटिएको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको पीडित परिवारले जनाएको छ। घटनापछि दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गरिएको थियो।

प्रहरीले उक्त घटनामा वडाध्यक्ष वैद्यनाथ झासहित बलवा नगरपालिका–६ का ५६ वर्षीय श्याम यादव, ३२ वर्षीय मञ्जेश यादव तथा बलवा नगरपालिका–५ का ४० वर्षीय राजु यादव र ३५ वर्षीय बलराम यादवलाई प्रतिवादी बनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारू मगरले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको र घटनाबारे कानुनबमोजिम आवश्यक अनुसन्धान तथा थप प्रक्रिया अघि बढाइएको जानकारी दिए।


सम्बन्धित समाचार