१ साउन,वीरगञ्ज । लामो समयदेखि सरकारी अनुदान रकमको पर्खाइमा रहेका रौतहटका उखु किसानको समस्या समाधानतर्फ महत्वपूर्ण पहल भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार भएको छलफलपछि सात दिनभित्र आवश्यक विवरण र कागजात संकलन गरी अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति भएको छ। सहमतिसँगै उखु किसानले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रम पनि स्थगित गरेका छन्।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा तथा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको बैठकमा उखु उत्पादक संघ रौतहटका जिल्ला अध्यक्ष अशोक यादवसहित किसान प्रतिनिधिहरू सहभागी थिए।
बैठकले उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि (संशोधन), २०७५ अनुसार योग्यता पुगेका किसानलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। त्यसका लागि स्थानीय तह तथा सम्बन्धित निकायले सात दिनभित्र किसानको विवरण र आवश्यक कागजात संकलन गरी पेश गर्ने तथा त्यसको रुजु गरी नियमानुसार भुक्तानी प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
निर्णयअनुसार किसानको विवरण संकलन कार्यलाई प्रभावकारी बनाउन सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखाका कर्मचारीलाई सक्रिय रूपमा परिचालन गरिनेछ। विवरण संकलनदेखि समस्या समाधानसम्म समन्वयात्मक भूमिका निर्वाह गर्न पनि निर्देशन दिइएको छ।
उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवले प्रशासनले अनुदान रकम सुरक्षित राख्ने जिम्मेवारी लिएको र किसानले आवश्यक कागजात समयमै उपलब्ध गराउने सहमति भएको बताए। भुक्तानी प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धतापछि हालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी भुसालले उखुको प्रमाणीकरण चिनी उद्योग (मिल) बाट र किसानको प्रमाणीकरण सम्बन्धित स्थानीय तहबाट गरिने व्यवस्था मिलाइएको बताए। आवश्यक कागजात पूरा भएपछि अनुदान भुक्तानी समितिले प्रक्रिया अघि बढाउने र एक साताभित्रै किसानको बैंक खातामा अनुदान रकम जम्मा गर्ने लक्ष्यका साथ काम भइरहेको उनले स्पष्ट पारे।
यसअघि प्रशासनिक ढिलाइका कारण करिब ७ करोड रुपैयाँ बराबरको अनुदान रकम फ्रिज भएको थियो। पछि माथिल्लो निकायसँगको समन्वयपछि उक्त रकम पुनः उपलब्ध गराउने आश्वासन प्राप्त भएको उखु उत्पादक संघले जनाएको छ।
अनुदान वितरणमा भएको ढिलाइ र रकम फ्रिज भएपछि किसानहरू आन्दोलित बनेका थिए। उनीहरूले बुधबार साँझ गरुडा–झाँझ पुल क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुका साथै गौर–चन्द्रपुर मुख्य सडक करिब चार घण्टा अवरुद्ध गरेका थिए। प्रशासनसँगको सहमतिपछि भने आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ।



















