१ साउन,काठमाडौं । ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना बर्डफ्लु (एभियन इन्फ्लुएञ्जा) संक्रमण नियन्त्रणमा आएपछि आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ।
गत असार ५ गते चिडियाखानाभित्र रहेका काग, गिद्ध र हाँसलगायतका पक्षीहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि संक्रमण फैलिन नदिन सुरक्षाका दृष्टिले चिडियाखाना पूर्ण रूपमा बन्द गरिएको थियो।
चिडियाखाना प्रशासनका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित पक्षीहरूको उपचार, खोरहरूको सघन सरसफाइ तथा आवश्यक जैविक सुरक्षा व्यवस्थापनका कार्यहरू सम्पन्न गरिएको थियो। त्यसपछि संकलन गरिएको वातावरणीय नमुनाको प्रयोगशाला परीक्षणमा एभियन इन्फ्लुएञ्जा भाइरस नेगेटिभ देखिएपछि पुनः सञ्चालनको निर्णय गरिएको हो।
बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले आवश्यक जैविक सुरक्षाका मापदण्ड पूरा भएको निष्कर्ष निकाल्दै चिडियाखाना पुनः खोल्ने निर्णय गरेको थियो।
चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना अब दैनिक बिहान १०:०० बजेदेखि बेलुका ४:०० बजेसम्म अवलोकनका लागि खुला रहनेछ। प्रवेश गरेका आगन्तुकहरूले भने बेलुका ५:०० बजेभित्र परिसरबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ।
चिडियाखाना व्यवस्थापनले आगन्तुकहरूलाई जनावर तथा पक्षीहरूसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। यसअघि संक्रमण देखिएका पक्षीका खोरहरूलाई रातो रिबनले घेरेर सुरक्षित राखिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नजान अनुरोध गरिएको छ।
त्यसैगरी, आगन्तुकहरूलाई आफूले ल्याएका खानेकुरा खुला स्थानमा नखान, प्रयोगपछि निस्कने प्लास्टिक तथा अन्य फोहर डस्टबिनमा मात्र फाल्न र परिसरभित्र अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि व्यवस्थापनले आग्रह गरेको छ।



















