१ साउन, चितवन । गायक दुर्गेश थापाको नयाँ गीत ‘मास्टर्नी’ सार्वजनिक भएसँगै विवादमा परेको छ। आगामी **भदौ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक सामग्रीका रूपमा युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतले शिक्षक तथा शिक्षण पेशाको गरिमामाथि प्रहार गरेको भन्दै शिक्षक समुदायले आपत्ति जनाएको छ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति, सानोठिमी भक्तपुरले उक्त गीतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले गीतमा महिला शिक्षकप्रति लक्षित मर्यादित शब्द र भाव संयोजन नगरिएको भन्दै गीत तत्काल बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक सामग्रीका रूपमा सार्वजनिक भएको उक्त गीतले शिक्षक र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख गरिएको छ।
महासंघले गीत निरन्तर सार्वजनिक भइरहे त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले लिनुपर्ने चेतावनीसमेत दिएको छ।
‘मास्टर्नी’ शब्ददेखि भिडियो प्रस्तुतिसम्म प्रश्न
दुर्गेश थापा र गायिका बबिना किराँतीको स्वर रहेको उक्त गीतमा दुर्गेश थापा, प्रियंका कार्की र आर्यन सिग्देलले अभिनय गरेका छन्।
गीत सार्वजनिक भएपछि यसको शब्द, संवाद र भिडियो प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। आलोचकहरूले विशेषगरी ‘मास्टर्नी’ शब्दको प्रयोगप्रति पनि प्रश्न उठाएका छन्।
उनीहरूको भनाइमा अहिले महिला होस् वा पुरुष, दुवैलाई समान रूपमा ‘शिक्षक’ भनेर सम्बोधन गरिन्छ। महिला शिक्षकलाई सम्मानका साथ ‘गुरुआमा’ भनेर सम्बोधन गर्ने परम्परा रहेको अवस्थामा ‘मास्टर्नी’ शब्द प्रयोग गर्दा केही हदसम्म हेपेर वा हल्का रूपमा सम्बोधन गरिएको जस्तो अनुभूति हुने उनीहरूको तर्क छ।
शिक्षण पेशा आफैँमा सम्मानित पेशा भएकाले यससँग जोडिने शब्द, संवाद र दृश्यमा पनि मर्यादा कायम हुनुपर्ने उनीहरू बताउँछन्।
आलोचकहरूका अनुसार गीतले शिक्षक–विद्यार्थी सम्बन्धलाई शिक्षा, अनुशासन र सम्मानमा आधारित सम्बन्धका रूपमा प्रस्तुत गर्नुपर्नेमा प्रेम वा आकर्षणसँग जोडेर फरक अर्थ लाग्ने अवस्था सिर्जना गरेको छ।
विशेषगरी “म्याथ सिक्ने भए, सबलाई जित्ने भए ट्युसन पढाइदिन्थेँ” लगायतका शब्द र भिडियोमा देखाइएका केही दृश्यले शिक्षण क्षेत्रको संवेदनशीलतालाई हल्का रूपमा प्रस्तुत गरेको भन्दै प्रश्न उठाइएको छ।
‘शिक्षक शब्द आफैँमा सम्मानजनक हो’– दिपनाथ आचार्य
जनकल्याण माध्यमिक विद्यालयका शिक्षक दिपनाथ आचार्यले उक्त गीत राम्रो नभएको भन्दै आफूले युट्युबमा रिपोर्टसमेत गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार गीतमा धेरै विषयमा कमजोरी देखिएको छ।
“शिक्षक चाहे महिला होस् वा पुरुष, शिक्षक शब्द आफैँमा सम्मानजनक शब्द हो। गुरुआमा, गुरुबा भनेर सम्मान गरिने पेशालाई ‘मास्टर्नी’ भनेर प्रस्तुत गर्दा हेपेको जस्तो अनुभूति हुन्छ,” उहाँले भन्नुभयो।
उहाँले गीतका शब्दहरूमा दोहोरो अर्थ लाग्ने खालका अभिव्यक्ति रहेको, भिडियो प्रस्तुति पनि उपयुक्त नभएको र शिक्षक समुदायलाई लक्षित गरेजस्तो देखिएको बताउनुभयो।
“भ्युज बढाउने, भाइरल हुने र त्यसबाट आम्दानी गर्ने उद्देश्यले शिक्षणजस्तो सम्मानित क्षेत्रलाई जोडेर विकृत किसिमका सामग्री बनाइनु हुँदैन,” आचार्यले भन्नुभयो।
‘विद्यार्थी र शिक्षक सँगै बसेर हेर्न सक्ने सामग्री हुनुपर्छ’– शोभा पन्त
राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीकी शिक्षिका शोभा पन्तले पनि गीतको विषयवस्तुप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।उहाँले शिक्षक शब्द आफैँमा सम्मानित रहेको उल्लेख गर्दै महिला शिक्षकलाई लक्षित गरेर गलत अर्थ लाग्ने किसिमको प्रस्तुति गर्नु उचित नभएको बताउनुभयो।
“विशेषगरी शिक्षकलाई नै लक्षित गरेर भिडियो बनाएको जस्तो देखिन्छ। विद्यार्थी र शिक्षक सँगै बसेर हेर्न सक्ने खालको सामग्री हुनुपर्छ,” पन्तले भन्नुभयो।
उहाँले केवल भ्युज कमाउने र भाइरल हुने उद्देश्यले यस्ता किसिमका सामग्री बनाइनु शिक्षा क्षेत्रका लागि चिन्ताको विषय भएको बताउनुभयो।
सामाजिक सञ्जालमा पनि चर्को विरोध
गीत सार्वजनिक भएपछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि विरोध जनाएका छन्। कतिपयले युट्युबमा रिपोर्ट गर्दै गीत हटाउन माग गरेका छन्।
ललितपुर निवासी जीवन तिम्सिनाले सम्मानित शिक्षण पेशालाई बदनाम गर्ने किसिमको सामग्री तत्काल हटाउनुपर्ने बताउनुभयो।
“शिक्षक समाज निर्माण गर्ने महत्वपूर्ण आधार हुन्। मनोरञ्जन वा चलचित्रको प्रमोसनका नाममा शिक्षण पेशालाई गलत अर्थ लाग्ने गरी प्रस्तुत गर्नु उचित हुँदैन,” उहाँले भन्नुभयो।
दुर्गेश थापा र बबिना किराँतीको स्वर रहेको तथा दुर्गेश थापा, प्रियंका कार्की र आर्यन सिग्देल अभिनित उक्त गीतबारे निर्माण पक्षले भने हालसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
सिर्जनात्मक स्वतन्त्रता र सामाजिक संवेदनशीलताबीचको सन्तुलनबारे बहस भइरहेका बेला चलचित्र *‘मास्टर्नी’*को प्रचारात्मक गीत विवादको केन्द्रमा परेको छ।




















