१ साउन, काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ मा झन्डै २ हजार कर्मचारी निवृत्त हुने भएका छन् ।
राष्ट्रिय किताबखाना (निजामती) ले सार्वजनिक गरेको विवरण अनुसार यो आर्थिक वर्षमा झन्डै २ हजार निजामती कर्मचारीहरू सेवाबाट अनिवार्य अवकाश पाउने भएका हुन् ।
कुल ९२ हजार ५२० कर्मचारीमध्ये एक वर्षभित्र १ हजार ९८५ जना कर्मचारीहरू निवृत्त हुने देखिएको किताबखानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उमेर हद (५८ वर्ष) र पदावधि पूरा हुने भएका कारण उनीहरूले अनिवार्य अवकाश पाउन लागेका हुन्।
यस वर्ष निवृत्त हुने कर्मचारीहरूमध्ये माथिल्लो तहका कर्मचारीहरूको संख्या उल्लेख्य छ। किताबखानाको तथ्याङ्क विश्लेषण गर्दा यसै वर्ष ‘ विशिष्ट श्रेणी ’ (सचिव वा सो सरह) का २० जना उच्च अधिकारीहरूले अवकाश पाउनेछन्। त्यसैगरी, सहसचिव वा सो सरहका ८७ जना, उपसचिव वा सो सरहका २०६ जना र शाखा अधिकृत वा सो सरहका ३२० जना कर्मचारीहरू सेवाबाट बिदा हुनेछन्।
तल्लो तहका कर्मचारीतर्फ सहायक स्तरका ७७३ जना र श्रेणीविहीन तर्फका ५७९ जना कर्मचारीहरू यो आर्थिक वर्षमा निवृत्त हुने सूचीमा रहेका छन्।
राष्ट्रिय किताबखानाको कार्यसञ्चालन दिग्दर्शन, २०७२ मा अनिवार्य अवकाश हुने कर्मचारीको अनुमानित विवरण अगाडि नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोही बमोजिम किताबखानाले यो विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो। यद्यपि, यो विवरणमा न्यायधीशहरूको अवकाश सम्बन्धी विवरण भने समावेश नगरिएको महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिए ।



















