१ साउन, चितवन। माडी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम यसपटक विकासका उपलब्धि सुनाउनेभन्दा बढी नागरिकका असन्तुष्टि, सुझाव र अपेक्षा सुन्ने मञ्च बनेको छ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा गर्न आयोजित कार्यक्रममा नगरवासीले सडक, कृषि, पर्यटन, कर, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र सेवा प्रवाहका विषयमा खुलेर आफ्ना धारणा राख्दै अब सुझाव कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन्।
नगरसभा हल, बसन्तपुरमा स्वदेश एफएमको सहजीकरणमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका स्थानीय, नागरिक समाज, अपांगता अधिकारकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाले नगरपालिकाका कामकारबाहीबारे प्रश्न उठाएका थिए।
वडा नं। ७ का हरि रानाभाट ले भूमिगत सिँचाइ योजनाभन्दा सतही सिँचाइ प्रणाली प्रभावकारी हुने भन्दै त्यसको विस्तार गर्न, रिचार्ज पोखरी निर्माण गर्न, अव्यवस्थित टहरा निर्माण नियन्त्रण गर्न तथा आत्महत्या न्यूनीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले बसन्तपुर बजारमा पार्किङ व्यवस्थापन र मगोई नदी क्षेत्रमा व्यवस्थित दाहसंस्कार स्थल निर्माण गर्न पनि सुझाव दिए।
वडा नं। ९ की जौमाया पौडेल ले गोविन्दबस्ती–प्याउली सडक कालोपत्रे गर्न, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा तथा परिचयपत्र उपलब्ध गराउन, कृषि अनुदानमा साना किसानलाई पनि समेट्न तथा ट्र्याक्टर भाडामा सहुलियत उपलब्ध गराउन माग गरिन्।
वडा नं ३ का हरिकृष्ण चौधरी ले निकुञ्जभित्रको सडक छेउका झाडी सफा गर्न, बनकट्टा गेटको स्वागत बोर्ड मर्मत गर्न, रीउ खोलाको पुरानो पुल पुनःनिर्माण गर्न तथा मगोई र बाँदरमुढे पुलको पहुँच सडक कालोपत्रे गर्न आग्रह गरे। उनले वर्षौंदेखि अलपत्र रहेको थारु सङ्ग्रहालय सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता पनि औँल्याए।
नागरिक समाज माडी का संयोजक रमाकान्त सापकोटा ले मालपोत तथा भूमिकर अत्यधिक भएको भन्दै जग्गाको मूल्याङ्कन पुनरावलोकन गरी करको भार घटाउन माग गरे। साथै, गोद्धकधाम र धनलक्ष्मी छाँगोको पर्यटन विकास, मुटुरोगीका लागि उपचार सहयोग तथा बाँदरमुढेमा यात्रु प्रतिक्षालय निर्माण गर्नुपर्ने धारणा राखे।
अपांगता समाज माडी का अध्यक्ष यमबहादुर अधिकारी ले सबै अपांगता भएका नागरिकले परिचयपत्र नपाएको, माडी–ठोरी रुटमा ५० प्रतिशत भाडा छुट प्रभावकारी रूपमा कार्यान्वयन नभएको तथा ग र घ वर्गका अपांगता भएका नागरिकलाई स्वास्थ्य बीमामा समेट्न पहल गर्न आग्रह गरे। उनले विकास योजनाहरू समयमै सम्पन्न हुनुपर्नेमा पनि जोड दिए।
वडा नं ६ का श्रीप्रसाद दवाडी ले पर्यटकीय क्षेत्रमा लिइँदै आएको प्रवेश शुल्कको पुनरावलोकन गर्न, निकुञ्जभित्रको सडक मर्मत तथा झाडी व्यवस्थापन गर्न र परुई खोलाको प्राकृतिक जलाधार संरक्षणमा विशेष ध्यान दिन सुझाव दिए। उनले प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रधानाध्यापक नियुक्ति सुरु गरेकोमा नगरपालिकाको प्रशंसा पनि गरे।
कार्यक्रममा उठाइएका प्रश्न र जिज्ञासाको जवाफ नगर प्रमुख तारा कुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल ले दिएका थिए। नगर प्रमुख महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार तथा विश्वविद्यालयका अध्यापक देवनारायण शाह ले गरेका थिए।
कार्यक्रमपछि रेस खबरसँग कुरा गर्दै माडी–७, देवेन्द्रपुरका कृष्ण पौडेल ले सार्वजनिक सुनुवाइ नागरिकका गुनासा संकलन गर्ने कार्यक्रम मात्र नभई समाधानको आधार बन्नुपर्ने बताए।
उनले भने, “जनताका गुनासा सुनेपछि त्यसलाई व्यवहारमा उतार्ने काम हुनुपर्छ। औपचारिकता पूरा गर्न मात्र सार्वजनिक सुनुवाइ गर्नुको कुनै अर्थ हुँदैन। नागरिकले उठाएका विषय कार्यान्वयनमा जानुपर्छ।”
त्यस्तै, माडी–३ का ओम पाण्डे ले सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवादको प्रभावकारी माध्यम भए पनि प्रश्न उठाउँदा केही जनप्रतिनिधि र प्रशासकीय अधिकारीले रक्षात्मक र तर्कपूर्ण शैलीमा प्रतिक्रिया दिने गरेको अनुभव सुनाए।
उनले भने, “यस्ता कार्यक्रम आवश्यक छन्। यसले नागरिकलाई आफ्ना गुनासा र सकारात्मक पक्ष राख्ने अवसर दिन्छ। तर आलोचना आउँदा त्यसलाई सहज रूपमा ग्रहण गर्ने संस्कृतिको विकास पनि हुनुपर्छ।”
पाण्डेका अनुसार नागरिकमा सार्वजनिक सुनुवाइप्रति विश्वास अझै कायम रहे पनि हरेक वर्ष उही प्रकृतिका समस्या दोहोरिनु चिन्ताको विषय हो। “अब नागरिकले सुझाव सुनेको मात्र होइन, त्यसको परिणाम पनि देख्न चाहेका छन्,” उनले भने।
सार्वजनिक सुनुवाइमा उठेका अधिकांश विषय वर्षौंदेखि दोहोरिँदै आएका आधारभूत समस्या रहेको भन्दै सहभागीहरूले आगामी दिनमा नगरपालिकाले सुझावलाई नीति र कार्यान्वयनमा रूपान्तरण गर्न सके मात्र यस्ता कार्यक्रमको औचित्य पुष्टि हुने धारणा व्यक्त गरेका छन्।



















