१ साउन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको लेखा शाखामा विगत १० दिनदेखि जारी तालाबन्दीका कारण नगरपालिकाको दैनिक प्रशासनिक तथा आर्थिक सेवा प्रभावित भएको छ। तालाबन्दी लम्बिँदै जाँदा सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको छ भने नगरपालिकाको नियमित कार्यसम्पादनसमेत प्रभावित बनेको छ।
लेखा शाखामा तालाबन्दी कायम रहँदा भुक्तानी, आर्थिक कारोबार तथा विभिन्न प्रशासनिक सेवा ठप्प भएका छन्। यसको असर नगरपालिकाबाट सेवा लिन आउने सर्वसाधारण, उपभोक्ता समिति तथा विभिन्न विकास योजनासँग सम्बन्धित सेवाग्राहीहरूमा प्रत्यक्ष रूपमा परेको छ।
बाल विकास शिक्षिका तथा कार्यालय सहयोगीहरूले तलब भुक्तानीको माग गर्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेका हुन्। माग सम्बोधन हुन नसक्दा तालाबन्दी अझै जारी रहेको जनाइएको छ।
नगरपालिकाको आर्थिक गतिविधिको प्रमुख केन्द्र मानिने लेखा शाखा बन्द हुँदा आर्थिक वर्षको महत्वपूर्ण समयमा विकास निर्माणका योजनाको भुक्तानी र अन्य वित्तीय कामसमेत प्रभावित भएका छन्। यसले विकास निर्माणका कार्यमा ढिलाइ हुने चिन्ता बढाएको छ।
स्थानीयवासीहरूले सेवाग्राहीको अधिकार प्रभावित हुने गरी गरिएको तालाबन्दी तत्काल अन्त्य गरी सम्बन्धित पक्षबीच वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। उनीहरूले नगरपालिकाको सेवा प्रवाह यथाशीघ्र सुचारु गरी सर्वसाधारणलाई सहज रूपमा सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।



















