Logo

१ साउन,वीरगञ्ज । पर्सा जिल्लाको उत्तरी भेगमा जीतपुरदेखि पश्चिम ठोरीसम्म जोड्ने प्रमुख सडकका रूपमा परिचित जनता सडक अन्तर्गत पर्सागढी नगरपालिका–३ स्थित फन्टी खोलामा पुल निर्माण नहुँदा स्थानीय बासिन्दाले हरेक वर्ष वर्षायाममा सास्ती खेप्न बाध्य भएका छन्। वर्षा सुरु भएसँगै खोलामा आउने बाढीका कारण सडक अवरुद्ध हुने समस्या वर्षेनि दोहोरिने गरेको छ।

स्थानीयका अनुसार खोलामा पानीको बहाव बढ्नेबित्तिकै जनता सडक पूर्ण रूपमा बन्द हुने गरेको छ। यसका कारण पूर्वदेखि पश्चिम ठोरीसम्म आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, कर्मचारी, व्यापारी तथा किसान प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्। सडक अवरुद्ध भएपछि यात्रुहरू जोखिम मोलेर खोला पार गर्न बाध्य हुने अवस्था सिर्जना हुने गरेको स्थानीयहरूको भनाइ छ।

स्थानीयवासीका अनुसार कतिपय सवारी चालकले जोखिमपूर्ण रूपमा खोला पार गर्ने प्रयास गर्दा सवारीसाधनको इन्जिनमा पानी पसी ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था आउने गरेको छ। यस्तै, पैदल यात्रु तथा मोटरसाइकल चालकहरू खोलामा लड्ने, बग्ने र घाइते हुने घटना पनि पटक–पटक दोहोरिने गरेको उनीहरूले बताएका छन्।

सडक अवरुद्ध भएपछि यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। तर वैकल्पिक बाटो प्रयोग गर्दा एक किलोमिटरभन्दा बढी दूरी घुम्नुपर्ने भएकाले समय, श्रम र यातायात खर्चसमेत बढ्ने गरेको स्थानीयहरूको गुनासो छ। यसले स्थानीय जनजीवन मात्र होइन, व्यापार–व्यवसाय, कृषि उत्पादनको ढुवानी, विद्यार्थीको नियमित पठनपाठन तथा स्वास्थ्य सेवामा समेत प्रतिकूल असर पार्दै आएको छ।

स्थानीय बासिन्दाले फन्टी खोलामा स्थायी पुल निर्माणको माग गर्दै पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म स्थानीय, प्रदेश वा संघीय सरकारबाट कुनै ठोस पहल हुन नसकेको बताएका छन्। वर्षेनि एउटै समस्या दोहोरिँदा पनि दीर्घकालीन समाधानका लागि आवश्यक बजेट विनियोजन र निर्माण प्रक्रिया अघि नबढेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानीयवासीले फन्टी खोलामा यथाशीघ्र स्थायी पुल निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार पुल निर्माण भएमा जनता सडक वर्षभरि निर्बाध रूपमा सञ्चालन हुने, स्थानीयको आवतजावत सहज बन्नुका साथै व्यापार, कृषि, शिक्षा, स्वास्थ्यलगायत आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्नेछ।

स्थानीयहरूको भनाइमा जनता सडक यस क्षेत्रको महत्वपूर्ण जीवनरेखा भएकाले पुल निर्माणमा थप ढिलाइ हुँदा हरेक वर्ष स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता र सास्ती कायमै रहनेछ। उनीहरूले सम्बन्धित निकायले तत्काल पुल निर्माण प्रक्रिया अघि बढाई वर्षौंदेखिको समस्याको स्थायी समाधान गर्नुपर्नेमा जोड दिएका छन्।


सम्बन्धित समाचार