१ साउन, काठमाडौँ । पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। असार ८ गते पक्राउ परेका पौडेलले आफ्नो पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई श्रीराम टोबाको प्रालिको शेयर खरिदमा सहजीकरण गरेको अनुसन्धान निष्कर्ष छ।
पौडेलले अनुसन्धान अधिकृतहरूसँगको बयानमा श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत शेयर दीपक भट्टको कम्पनीलाई दिनु नभनेको जिकिर गरेका छन्।
बयानमा उनले भनेका छन्, ‘दीपक भट्टको कम्पनीलाई शेयर दिनु भनेर श्रीराम टोबाको उद्योगका सञ्चालकहरूलाई भनेको र भेट गराएको भन्ने आरोप सरासर झुटा हो। दीपक भट्ट र श्रीराम टोबाको उद्योगबिचको आपसी सम्बन्धमा मेरो कुनै पनि संलग्नता छैन।’
पौडेलले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा भएकाले मात्र श्रीराम टोबाको उद्योगका सञ्चालकहरूसँग चिनजान रहेको बताएका छन्। बयानमा उनले भनेका छन्, ‘श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत शेयर मैले भनेबमोजिम दीपक भट्टको कम्पनीलाई दिलाएको भन्ने कुरा झुटा हो।’


















