Logo

१ साउन, काठमाडौँ । नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै फेरि बन्द भएको छ ।
बिहीबार साँझ तीन दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार बिहानदेखि पुनः ठप्प भएको हो ।

बिहीबार रातभर परेको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको भेलले सडक बगाएपछि सीमा नाकाको आवतजावत पूर्ण रूपमा रोकिएको हो । स्थानीय प्रशासनका अनुसार वर्षापछि खोल्साको पानी सडकमै पसेर सडक क्षतिग्रस्त बनेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटले मर्मतपछि बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याएको थियो। सडक खुलेसँगै ३५ वटा कन्टेनर सीमा पार गर्न सफल भएका थिए । तर इको क्षेत्रमा सडक पुनः भासिएपछि नाका फेरि बन्द हुन पुगेको हो ।

यसवर्ष मनसुन ढिलो सुरु भएका कारण २७ असारसम्म कोदारी सडक नियमित सञ्चालनमा थियो । तर पछिल्ला दुई दिनदेखि परेको वर्षाले लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै वर्षेनी जोखिम मानिने इको क्षेत्रमा सडक भासिने समस्या दोहोरिएको छ ।

उक्त क्षेत्रमा सडक भासिएर भोटेकोशी नदीतर्फ झर्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ ।


सम्बन्धित समाचार