Logo

३ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकाको सडक अनुशासन र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन ट्राफिक प्रहरीले कडा अभियान सञ्चालन गरेको छ। पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न स्थानमा सवारी नियम उल्लङ्घन गर्ने २ हजार २९ जना सवारीचालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। यो व्यापक कारबाही अभियानबाट एकै दिनमा राज्यकोषमा ४ लाख १७ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो समय सडक दुर्घटनाको मुख्य कारण बनिरहेको ‘तीव्र गति’ विरुद्ध विशेष निगरानी बढाइएको छ। जसअनुसार तीव्र गतिमा सवारीसाधन हुइँक्याउने २०८ जना चालक कारबाहीमा परेका छन्।

यसैगरी, पछिल्लो समय व्यावसायिक रूपमा सञ्चालित तर तोकिएको नियमविपरीत यात्रु ओसारपसार गर्ने ११९ वटा ‘राइड सेयरिङ’ का सवारीसाधनलाई पनि ट्राफिकले कारबाहीको दायरामा ल्याएको छ। मापसे (मादकपदार्थ सेवन) गरेर स्टेरिङ समात्ने ५९ जना चालकहरू पनि कारबाहीमा परेका छन्, जसलाई ट्राफिकले रातको समयमा मात्र नभई दिउँसो समेत आकस्मिक चेकिङ गरेर नियन्त्रणमा लिएको हो।

सडकमा जथाभाबी गर्ने र पैदलयात्रीलाई सास्ती दिने चालकहरूलाई समेत प्रहरीले छाडेको छैन। ट्राफिक प्रहरीका अनुसार ट्राफिक सङ्केत बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने १३२, एकतर्फी (वान वे) सडकमा जबरजस्ती सवारी चलाउने १२६ र सडक पेटी (फुटपाथ) मा सवारीसाधन पार्किङ गरेर पैदलयात्रीको बाटो छेक्ने ९५ जनालाई कारबाही गरिएको छ।

त्यस्तै, ध्वनि प्रदूषण रोक्न कडा पारिएको ‘नो हर्न’ अभियानअन्तर्गत निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना र ‘लेन’ अनुशासन पालना नगर्ने ५७ जना चालकलाई जरिवाना गराइएको छ। अन्य विभिन्न ससाना सवारी नियम पालना नगरेका १ हजार १३९ जना चालकहरू पनि कारबाहीको सूचीमा परेका छन्।

उपत्यकामा बढ्दो सवारी चाप र त्यसका कारण हुने दुर्घटना न्यूनीकरणका लागि नियमित र आकस्मिक दुवै किसिमको चेकिङलाई थप कडा र प्रविधिमैत्री बनाउँदै लगिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार