७ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको शासनशैली र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाउँदै कडा आलोचना गरेका छन् । संसद्प्रति सरकार उदासीन र गैरजिम्मेवार बनेको आरोप लगाउँदै सांसद सिंहले वर्तमान सरकारका कारण छिमेकी मुलुकहरू भारत र चीन दुवैसँगको कूटनीतिक तथा भूराजनीतिक सम्बन्ध नराम्ररी खलबलिएको दाबी गरे।
हिमालय टेलिभिजनको चर्चित कार्यक्रम ‘यक्ष प्रश्न’ मा पत्रकार निमेष बन्जाडेसँग कुराकानी गर्दै सांसद सिंहले सरकारको परराष्ट्र नीति पूर्ण रूपमा असफल भएको टिप्पणी गरे। “म न भारतको प्रवक्ता हुँ, न त बालेनको,” सिंहले भने, “तर यो सरकारको पालामा केपी ओली नेतृत्वको सरकारभन्दा पनि बढी भूराजनीतिक असन्तुलन पैदा भएको छ। चीन र भारत दुवैसँगको सम्बन्ध खलबलिएको प्रष्टै देखिन्छ।”
सांसद सिंहले प्रधानमन्त्री शाहले संसद्लाई छलेर चोरबाटोबाट अध्यादेश ल्याउने गरेको भन्दै आपत्ति जनाए। संसद्को औचित्यमाथि प्रहार गरेर सरकारले लोकतन्त्रको घाँटी निमोठ्न खोजेको उनको आरोप छ । यो शासनशैलीले पाकिस्तानी मोडलको प्रजातन्त्रको स्मरण गराएको भन्दै उनले चिन्ता व्यक्त गरे । “पाकिस्तानमा संसद्लाई कहिल्यै बलियो बन्न दिइएन, जसका कारण त्यहाँ लोकतन्त्र कहिल्यै स्थिर हुन सकेन,” नेपालको वर्तमान परिस्थितिलाई जोड्दै उनले थपे, “अहिले नेपालमा जुन ढङ्गले संसद्लाई कमजोर बनाइँदै छ, त्यसले हाम्रो लोकतन्त्रको भविष्यमाथि पनि ठूलो आशङ्का जन्माएको छ।”
विगतमा बालेन शाह र रास्वपाको उदयको प्रवल प्रशंसक रहेका सिंहले आफूले देशको पुरानो दलीय बेथिति तोड्नकै लागि समर्थन गरेको खुलासा गरे। “नेपाली काङ्ग्रेस, माओवादी र मधेशवादी दलहरूप्रति जनताको तीव्र वितृष्णा भएरै रास्वपा र बालेनजीको उदय भएको हो ।
वडादेखि सिंहदरबारसम्मको भ्रष्टाचार, नातावाद र कृपावादले देश थिलथिलो भएका बेला उहाँसँग कुरा गर्दा मैले निश्चल भाव र देश सुधार्ने हुटहुटी पाएको थिएँ,” सिंहले पुरानो दिन सम्झिँदै भने, “त्यसैले पुराना दलहरूको सिन्डिकेट तोड्न मैले समर्थन गरेर चुनाव लडेको थिएँ। तर प्रधानमन्त्री भएपछि उहाँले देशको कार्यकारी सरकारलाई पनि काठमाडौँ महानगरपालिका चलाए जस्तै हुकुमी शैलीमा चलाउन खोज्नुभयो, जुन सम्भव छैन।”
सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा सरकारी निकायहरूमा घुसखोरी र बेथिति अझै जारी रहेको सिंहले दाबी गरे। अहिले पनि विभिन्न मुद्दा फाँटहरूमा मोटो रकमको लेनदेन भइरहेको उनको भनाइ छ । यसका साथै, सरकारले राजस्व वृद्धिका नाममा भन्सारमा गरेको अव्यावहारिक कडाइका कारण सीमावर्ती क्षेत्रका सर्वसाधारण नागरिकहरू मारमा परेको भन्दै उनले सरकारको आर्थिक नीतिको समेत आलोचना गरे ।
सुरुवाती दिनमा वैकल्पिक राजनीतिको आशा जगाएका प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि संसद्को हुर्मत लिएको भन्दै आफ्नै सांसदले यसरी कडा आलोचना गरेपछि राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ।

















