८ जेठ,वीरगञ्ज । दृढ इच्छाशक्ति, अदम्य साहस र कठोर परिश्रमका अगाडि संसारको जुनसुकै कठिन चुनौती पनि फिक्का सावित हुन्छ भन्ने कुरालाई प्रमाणित गर्दै नेपालकी सुश्री प्रीति अग्रवाल रतैरियाले विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को सफल आरोहण गरेकी छन् । यो सफलतासँगै उनले नेपालको पर्वतारोहणको क्षेत्रमा मात्र नभई समग्र मारवाडी समुदायकै इतिहासमा एउटा स्वर्णिम र गौरवशाली अध्याय थपेकी छन् ।
सुनसरीको धरान स्थायी घर भई हाल काठमाडौँलाई आफ्नो कर्मथलो बनाउँदै आएकी प्रीति नेपालको इतिहासमै सगरमाथाको शिखर चुम्ने पहिलो मारवाडी महिला बनेकी छन् । श्री कमलेश अग्रवाल रतैरिया तथा श्रीमती जाना कुमारी अग्रवाल मित्तल (“निर्मला रतैरिया”) की सुपुत्री प्रीतिको यो ऐतिहासिक विजयले नेपालको मात्र नभई विश्वभर छरिएर रहेका अग्रवाल-मारवाडी समुदायको शिर गर्वले उच्च बनाएको छ ।
विश्वभरकै मारवाडी समाजमा दोस्रो महिलाको कीर्तिमान
पर्वतारोहण सम्बन्धी उपलब्ध ऐतिहासिक रेकर्ड र विवरणहरूका अनुसार, प्रीति अग्रवाल सम्भवतः विश्वभरकै मारवाडी समाजबाट सगरमाथा आरोहण गर्ने दोस्रो अग्रवाल-मारवाडी महिला बन्न सफल भएकी छन् । नेपालको राष्ट्रिय इतिहासको सन्दर्भमा भने मारवाडी समुदायबाट सगरमाथाको सर्वोच्च शिखरमा पाइला टेक्ने उनी सर्वप्रथम् महिला हुन् ।
व्यापार-व्यवसाय र सामाजिक क्षेत्रमा बढी केन्द्रित रहने मारवाडी समुदायबाट साहसिक खेल तथा पर्वतारोहणको यस्तो कठिन विधामा महिलाले हासिल गरेको यो अभूतपूर्व उपलब्धिलाई अहिले बहुआयामिक दृष्टिकोणले हेरिएको छ । समाजका बौद्धिक वर्ग र अभियन्ताहरूले यस विजयलाई केवल एउटा आरोहण मात्र नभनेर “हौसलाको उडानको अर्को नाम” का रूपमा ब्याख्या गरेका छन् ।

“तिमीबाट सम्भव छैन” भन्नेहरूलाई कडा जवाफ: संकुचित सोचको अन्त्य
प्रीतिको यो अद्वितीय सफलताले समाजमा परापूर्वकालदेखि महिलाहरूका प्रति रहिआएका कतिपय परम्परागत र संकुचित सोचहरूमाथि ठुलो प्रहार गरेको छ । विशेषगरी साहसिक र जोखिमपूर्ण कामहरूमा “तिमी महिला हौ, तिमीबाट यो सम्भव छैन” भन्दै अघि बढ्न रोक्ने वा निरुत्साहित गर्ने प्रवृत्तिलाई उनको यो कदमले पूर्ण रूपमा बदलिदिएको छ ।
सगरमाथाको कठिन भूगोल, प्रतिकूल मौसम र अक्सिजनको कमी जस्ता ज्यानकै जोखिम हुने चुनौतीहरूलाई सफलतापूर्वक पार गर्दै प्रीतिले दृढ इच्छाशक्ति र साहस भएमा महिलाहरूले जुनसुकै शिखर पनि हासिल गर्न सक्छन् भन्ने जीवन्त उदाहरण पेश गरेकी छन् । उनको यो उपलब्धि आगामी दिनमा अन्य थुप्रै महिलाहरूका लागि सपना देख्ने र त्यसलाई साकार पार्ने बलियो प्रेरणा, साहस र आत्मविश्वासको अनुपम मार्गदर्शक बन्ने निश्चित छ ।
सफलताको शिखर चुमेपछि सामाजिक सञ्जालहरूमा उनलाई बधाई दिँदै गौरव र खुसीका शब्दहरू ओइरिएका छन्, जहाँ लेखिएको छ:
“अब कसैले पनि नभनोस्— तिमीबाट यो सम्भव छैन, किनकि कसैबाट हुन नसकेको काम हामीबाट हुन्छ । हामी जे सोच्छौँ, त्यो गरेर देखाउन सक्छौँ ।”
चौतर्फी उत्सव र आगामी पुस्ताका लागि प्रेरणाको दीप
प्रीतिको यो ऐतिहासिक विजयको खबर सार्वजनिक भएलगत्तै उहाँका माता-पिता, रतैरिया परिवार तथा विश्वभर रहेका सम्पूर्ण मारवाडी-अग्रवाल समुदायमा ठुलो हर्ष, उत्साह र उत्सवको वातावरण छाएको छ । आफ्नो परम्परागत घेराभन्दा बाहिर निस्किएर विश्वकै सर्वोच्च स्थानमा देशको झण्डा फहराउन सफल सुपुत्री पाउँदा परिवार निकै भावुक र गौरवान्वित बनेको छ ।
यो सफलताको पछाडि प्रीतिको व्यक्तिगत मिहिनेत त छँदैछ, साथै उनका माता-पिता, परिवार र गुरुजनको अटुट साथ, निरन्तरको प्रेरणा र आशीर्वादले पनि यो कठिन यात्रालाई सफलतामा बदल्न मुख्य भूमिका खेलेको बताइएको छ ।
नेपालको पर्वतारोहण इतिहासमा अंकित भएको प्रीतिको यो नाम र सगरमाथाको शिखरमा फहराएको सफलताको झण्डा आगामी पुस्ताका लागि सधैँ एउटा दीप जस्तै बलिरहने विश्वास लिइएको छ । यस ऐतिहासिक र साहसी यात्रालाई सफलतापूर्वक सम्पन्न गरेकोमा नेपालका विभिन्न सामाजिक संघ-संस्थाहरू, उद्योगी-व्यवसायी तथा सम्पूर्ण नागरिक समाजले यशस्वी प्रीति अग्रवाल, उहाँका माता-पिता र समग्र रतैरिया परिवारप्रति हार्दिक बधाई तथा सुखद् र सफल भविष्यको शुभकामना व्यक्त गरिरहेका छन् ।


















