९ जेठ,काठमाडौं । अष्टलक्ष्मी शाक्य ले केपी शर्मा ओली लाई ससम्मान अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाक्यले नेकपा एमाले कमजोर अवस्थामा पुगेको आरोप लगाउँदै नेतृत्व पुस्तान्तरणको आवश्यकता औँल्याएकी हुन्।
उनले अध्यक्ष ओलीले तीन कार्यकाल नेतृत्व गरिसकेको स्मरण गर्दै अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी छन्। शाक्यका अनुसार अहिले पार्टीलाई पुनर्जीवित गर्न सामूहिक नेतृत्व र नयाँ सोच आवश्यक छ।
शाक्यले लेखेकी छन्, “सास रहुन्जेल एमालेको अध्यक्ष भइराख्ने सोच गलत हो,” भन्दै ओलीको कार्यशैलीप्रति कडा आलोचना गरेकी छन्। उनले पार्टीलाई कुनै व्यक्तिको पेवा वा गुटको कम्पनी नठान्न चेतावनी पनि दिएकी छन्।
उनले एमाले लाखौँ कार्यकर्ताको त्याग र बलिदानबाट बनेको पार्टी भएकाले यसलाई विचार, सामूहिकता, संघर्ष र इमानका आधारमा अघि बढाउनुपर्ने उल्लेख गरेकी छन्। व्यक्तिको गुणगान र चाकरीभन्दा देश र जनताको हितमा केन्द्रित राजनीति आवश्यक भएको उनको भनाइ छ।
शाक्यले वर्तमान नेतृत्वले कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाउँदै पार्टीलाई “अन्धकारतर्फ जानबाट रोक्न” नेतृत्व परिवर्तन अनिवार्य भएको दाबी गरेकी छन्।


















