Logo

१२ जेठ,वीरगञ्ज । पर्सामा यस वर्ष लगाइएको चैते धानबालीमा ‘खैरो फड्के’ (ब्राउन प्लान्ट हपर–बीपीएच) कीराको प्रकोप फैलिएपछि किसानहरू ठूलो समस्यामा परेका छन्। धानबालीको फेदबाट रस चुसेर बिरुवा नै सुकाउने यो कीराले जिल्लाका विभिन्न पालिकामा व्यापक असर पु¥याउन थालेपछि किसानहरू चिन्तित बनेका हुन्। उत्पादनको मुख्य चरणमा देखिएको यो प्रकोपले धान उत्पादनमा गम्भीर असर पर्ने अनुमान गरिएको छ।

कृषि ज्ञान केन्द्र पर्साका बाली संरक्षण अधिकृत उमेश थापा का अनुसार यस वर्ष पर्सामा करिब चार हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ। तीमध्ये करिब ३५ प्रतिशत क्षेत्रमा ‘खैरो फड्के’ कीराको प्रकोप देखिएको उनले जानकारी दिए।

उनका अनुसार यो कीराले धानको बोटको फेदमा बसेर रस चुस्ने भएकाले बोट पहेंलिँदै जान्छ र अन्ततः डढेजस्तो भएर सुक्ने गर्दछ। “प्रकोप बढ्दै गए उत्पादनमा ठूलो क्षति पुग्ने अवस्था छ,” उनले भने, “कतिपय किसानको खेतमा त धान जोगिने सम्भावना नै कम देखिएको छ।”

सखुवा प्रसौनीमा सबैभन्दा बढी क्षति

सखुवा प्रसौनी गाउँपालिका मा सबैभन्दा बढी प्रकोप देखिएको कृषि प्राविधिकहरूले बताएका छन्। ना.प्रा.स. दयाराम वाग्ले का अनुसार गाउँपालिकाको वडा नम्बर ३ कउवाबनकटैया, वडा नम्बर ४ देउरबाना र वडा नम्बर ५ बलुवामा लगाइएको चैते धानमा ठूलो असर परेको छ।

उनका अनुसार मात्र सखुवा प्रसौनीमा करिब ७० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित भएको छ। “धानका बोटहरू पहेंलिँदै सुक्न थालेका छन्। कतिपय किसानले समयमै उपचार नपाउँदा खेत नै उजाड हुने अवस्था आएको बताएका छन्,” वाग्लेले भने।

किसानहरूका अनुसार केही दिनअघिसम्म हरियो देखिएको खेत अहिले पहेंलो बन्दै गएको छ। विषादी छर्दा पनि अपेक्षित परिणाम नआएपछि किसान थप निराश बनेका छन्।

जगरनाथपुरमा पनि बढ्यो संक्रमण

जगरनाथपुर गाउँपालिका मा पनि ‘खैरो फड्के’ कीराको संक्रमण तीव्र रूपमा फैलिएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख दयानन्द चौहान का अनुसार वडा नम्बर १ पिढारी गुठी क्षेत्रमा सबैभन्दा बढी असर देखिएको छ।

उनका अनुसार पिढारी गुठीमा मात्रै करिब १२ बिघा क्षेत्रफलमा लगाइएको धानबालीमा कीराको प्रकोप देखिएको छ। “किसानहरू निरन्तर गुनासो लिएर कार्यालय आउन थालेका छन्। धेरैले विषादी प्रयोग गरे पनि पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन,” उनले बताए।

अन्य पालिकामा पनि फैलियो प्रकोप

कृषि ज्ञान केन्द्रका अनुसार बहुदरमाई नगरपालिका, बिन्दबासिनी गाउँपालिका, ठोरी गाउँपालिका, वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका तथा पटेर्वासुगौली गाउँपालिका लगायतका पालिकाहरूमा पनि चैते धानमा ‘खैरो फड्के’ कीराको प्रकोप देखिएको छ।

कृषि प्राविधिकहरूका अनुसार मौसम परिवर्तन, अत्यधिक आद्र्रता तथा असन्तुलित विषादी प्रयोगका कारण यस वर्ष प्रकोप बढेको हुनसक्ने अनुमान गरिएको छ।

१२–१५ वर्षपछि देखियो ठूलो प्रकोप

बाली संरक्षण अधिकृत थापाका अनुसार पर्सामा करिब १२ देखि १५ वर्षपछि यति ठूलो मात्रामा ‘खैरो फड्के’ कीराको प्रकोप देखिएको हो। “यसअघि पनि सामान्य रूपमा देखिने गरेको थियो, तर यसपालि धेरै क्षेत्रमा एकैपटक फैलिएको छ,” उनले भने।

उनका अनुसार कतिपय किसानले अत्यधिक क्षति भएपछि खेतमा लगाइएको धान ट्र्याक्टर लगाएर जोत्न थालेका छन्। “धान जोगिने सम्भावना नदेखेपछि किसानले पुनः खेती गर्ने सोच बनाएका छन्,” उनले बताए।

थापाका अनुसार किसानहरूले बिना प्राविधिक सल्लाह भारतीय विषादीको जथाभावी प्रयोग गरेकाले अहिले प्रयोग गरिएका औषधिले प्रभावकारी रूपमा काम नगरेको हुन सक्छ। “कीरामा विषादी प्रतिरोध क्षमता विकास भएको हुनसक्छ,” उनले भने।

कसरी क्षति पु¥याउँछ ‘खैरो फड्के’ ?

कृषि विज्ञहरूका अनुसार ‘खैरो फड्के’ धानबालीको अत्यन्त खतरनाक कीरा मानिन्छ। यसले धानको बोटको फेदमा बसेर रस चुस्ने गर्दछ। सुरुआती अवस्थामा खेतमा साना खैरो रङका कीरा देखिन्छन्। विस्तारै बोट पहेंलिँदै जाने र अन्ततः डढेजस्तो भएर सुक्ने अवस्था आउँछ।

यदि समयमै नियन्त्रण नगरिए धानको उत्पादनमा ठूलो गिरावट आउन सक्छ। विशेषगरी पानी जमेको खेत तथा अत्यधिक नाइट्रोजनयुक्त मल प्रयोग गरिएको खेतमा यो कीरा छिटो फैलिने कृषि प्राविधिकहरूको भनाइ छ।

रोकथाम र उपचारका उपाय

कृषि ज्ञान केन्द्र पर्साले किसानलाई प्रकोप नियन्त्रणका लागि केही उपाय अपनाउन आग्रह गरेको छ।
प्रकोप देखिनासाथ धान खेतमा जमेको पानी २ देखि ३ दिनसम्म पूर्ण रूपमा सुकाउनुपर्ने कृषि प्राविधिकहरूको सुझाव छ। यसो गर्दा कीराको संख्या घटाउन मद्दत पुग्ने बताइएको छ।

धानका बोटहरूलाई दुवैतर्फबाट हल्लाएर कीरालाई पानीमा खसालेर नष्ट गर्न सकिने कृषि शाखाले जनाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार एक गाँजमा १५ भन्दा बढी कीरा देखिए आर्थिक क्षतिको अवस्था मानिन्छ। त्यसपछि मात्रै सिफारिस गरिएको रासायनिक विषादी प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ।

बाली संरक्षण अधिकृत थापाका अनुसार साइपरमेथ्रिन समूहका विषादी प्रति लिटर पानीमा मिसाएर बोटको फेदमा पर्ने गरी छर्कनुपर्छ। तर उनले सबै किसानको खेतमा एउटै विषादीले समान रूपमा काम नगर्न सक्ने चेतावनी दिएका छन्।

प्रकोप बढ्दै गएपछि किसानहरूले स्थानीय तह र कृषि कार्यालयसँग राहत तथा प्राविधिक सहयोगको माग गरेका छन्। कतिपय किसानले ऋण लिएर खेती गरेका कारण उत्पादन नहुँदा आर्थिक संकट आउने चिन्ता व्यक्त गरेका छन्।

कृषि ज्ञान केन्द्र पर्साले किसानलाई आफूखुसी विषादी प्रयोग नगर्न र प्राविधिकको सल्लाहअनुसार मात्रै उपचार प्रक्रिया अपनाउन आग्रह गरेको छ। साथै थप जानकारी तथा प्राविधिक सहयोगका लागि स्थानीय कृषि शाखा कार्यालय वा कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

कृषि विज्ञहरूका अनुसार समयमै नियन्त्रण गर्न सकिए उत्पादनमा हुने ठूलो क्षति कम गर्न सकिने भएकाले किसान, स्थानीय तह र कृषि प्राविधिकबीच समन्वय आवश्यक रहेको बताएका छन्।

 


सम्बन्धित समाचार