१४ जेठ, वीरगञ्ज । सूचना प्रविधिको क्षेत्रमा आएको युगान्तकारी र तीव्र परिवर्तनले मानव सभ्यताको इतिहासमै सबैभन्दा ठूलो फेरबदल ल्याइदिएको छ। यस क्रान्तिले मानिसको दैनिक आनीबानी र जीवनशैलीलाई मात्र बदलेको छैन, बरु नागरिकको असन्तुष्टि र विचार अभिव्यक्त गर्ने परम्परागत थलो र शैलीलाई समेत जगैदेखि रूपान्तरण गरिदिएको छ ।
हिजोका दिनमा आफ्ना मागहरू राख्न, नीतिगत बेथितिको विरोध गर्न वा न्यायका लागि आवाज बुलन्द गर्न नागरिकहरू बाध्य भएर सडकमा उत्रनुपथ्र्यो । टायर बाल्ने, चक्काजाम गर्ने र लाठीचार्ज सहँदै सडकका भित्ताहरू रङ्गाउने परिपाटी नै विरोधको एकमात्र पर्याय थियो । तर, आज समयको पाङ्ग्रो यसरी घुमेको छ कि हिजोको त्यो भौतिक सडकको भीड र कोलाहल अहिले मोबाइलको स्क्रिनभित्र सरेको छ ।
सामाजिक सञ्जालका विभिन्न भर्चुअल प्लेटफर्महरू अहिले एउटा यस्तो ‘डिजिटल सडक’ मा परिणत भएका छन्, जसको न त कुनै भौगोलिक सिमाना छ, न त यसको लम्बाइ नै कहिल्यै सकिन्छ ।
आजको मानिस बिहान आँखा खुलेदेखि राति ननिदाउन्जेलसम्म मोबाइलको स्क्रिनमा औँला कुदाइरहेको भेटिन्छ । फेसबुक, टिकटक, इन्स्टाग्राम र एक्स जस्ता सञ्जालहरूमा गरिने ‘अनन्त स्क्रोलिङ’ भौतिक सडकको लामो यात्राभन्दा कम छैन ।
कुनै समय दबेका आवाजहरूलाई मूलधारको सञ्चारमाध्यम वा सिंहदरबारको ढोकासम्म पुग्न वर्षौँ लाग्थ्यो । आज तिनै सीमान्तकृत र दबेका आवाजहरूले डिजिटल सडकको प्रयोग गरेर सिधै राज्यको नीतिगत तहलाई झकझक्याउन सफल भएका छन् ।
नागरिक आन्दोलनको राँको बाल्नेदेखि लिएर व्यक्तिगत पीडामा न्यायको याचना गर्नेसम्मका सम्पूर्ण कार्यहरू यिनै भर्चुअल भित्ताहरूबाट भइरहेका छन् । सडकमा हुने ठूला र खर्चिला आमसभा तथा वादविवादहरू अहिले सञ्जालका “कमेन्ट सेक्सन” हरूमा सरेका छन् ।
यसले सडकमा हुने अराजक र खर्चिला भौतिक कार्यक्रमहरूलाई धेरै हदसम्म नियन्त्रण गरेको छ र आम नागरिकलाई घरमै बसेर विधिको शासन र सुशासनका पक्षमा बहस गर्ने एउटा बलियो मञ्च प्रदान गरेको छ । तर, प्रविधिको यो अभूतपूर्व वरदान आफैँमा पूर्ण रूपमा सङ्कटमुक्त भने छैन । डिजिटल सडकको यो अनन्त यात्राले समाज र व्यक्ति स्वयंको मनोविज्ञानमा एउटा गम्भीर र डरलाग्दो सङ्कटको सङ्केत गरिरहेको छ ।
भौतिक सडकमा यात्रा गर्दा मानिसको एउटा निश्चित गन्तव्य र दिशा हुन्छ, तर यो डिजिटल सडकमा यात्रा गर्ने अधिकांश मानिसहरू भने प्रायः गन्तव्यहीन र उद्देश्यविहीन भएर भुलिरहेका भेटिन्छन् । यसको सबैभन्दा ठूलो र पहिलो असर मानव स्रोतको समय व्यवस्थापनमा देखिएको छ । अनन्त स्क्रोलिङको घातक लतले मानिसको बहुमूल्य, रचनात्मक र उत्पादक समयलाई बिस्तारै निलिरहेको छ, जसका कारण समग्र समाजको उत्पादकत्व दिनानुदिन घट्दो क्रममा छ । मानिसहरू घन्टौँसम्म स्क्रिनमा झुम्मिँदा उनीहरूको सिर्जनशीलता मरेर गएको छ भने भौतिक संसार र वास्तविक सामाजिक सम्बन्धहरू भत्किँदै गइरहेका छन् ।
यसभन्दा पनि खतरनाक पाटो के हो भने, यो डिजिटल सडकबाट भइरहेका वैचारिक प्रहारहरूले समाजमा तीव्र रूपमा नकारात्मक विचार र घृणाको प्रवाह गरिरहेका छन् । भौतिक सडकमा हुने अत्यधिक भीडभाड र ट्राफिक जामले जस्तै सामाजिक सञ्जालमा देखिने नकारात्मकता, गालीगलौज, ट्रोलिङ र चरित्रहत्याको प्रवृत्तिले आम मानिसमा गम्भीर मानसिक तनाव र डिप्रेसन बढाइरहेको छ ।
आजको डिजिटल अल्गोरिदमले नै यसरी काम गर्छ, जसले सकारात्मक, चेतनामूलक र ज्ञानवर्द्धक विषयहरूलाई भन्दा सनसनीपूर्ण, नकारात्मक, विवादास्पद र उत्तेजक कुराहरूलाई बढी प्रवर्द्धन गर्दछ। नतिजास्वरूप, समाज रचनात्मक विमर्शभन्दा पनि कसलाई कसरी खुइल्याउने र कसरी सस्तो लोकप्रियता (पपुलिजम) कमाउने भन्ने दौडमा अन्धो भएर लागिरहेको छ।
यसले समाजको सामूहिक चेतनालाई मात्र प्रदूषित बनाएको छैन, स्वयं व्यक्तिलाई पनि सकारात्मक विषयभन्दा नकारात्मक विषयतर्फ बढी आकर्षित हुने र त्यसैलाई बढवा दिने मानसिक रोगी बनाउने खतरा बढाएको छ ।
कुनै पनि घटनाको गहिराइ र सत्यतथ्य नबुझी सिधै सामाजिक सञ्जालमा आक्रोश पोख्ने, अराजक टिप्पणी गर्ने र भीडको हिस्सा बन्ने प्रवृत्ति नै अचेलको नयाँ सामान्यता बनेको छ । जसरी भौतिक सडकमा सानो असावधानी अपनाउँदा वा तीव्र गतिमा सवारी गुडाउँदा भयानक दुर्घटनाको जोखिम हुन्छ, त्यसरी नै डिजिटल सडकमा बिनाकुनै पुष्टि प्रवाह हुने फेक न्युज (भ्रामक समाचार), प्रपोगान्डा र नियोजित प्रचारप्रसारले समाजलाई गलत दिशामा डोर्याउँदै ठूलो वैचारिक र सामाजिक दुर्घटनातर्फ धकेलिरहेको छ । एउटा सानो भ्रामक भिडियो वा स्टाटसकै भरमा समाजमा दङ्गा भड्किने, सामाजिक सद्भाव खलबलिने र वर्षौँदेखिको आपसी भाइचारा एकाएक दुस्मनीमा परिणत हुने जोखिम उत्तिकै बढेर गएको छ।
आजको भर्चुअल सडकमा बौद्धिक विमर्शहरू हराएका छन् र त्यसको ठाउँ गालीको उद्योगले लिएको छ । सुशासन, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र नीतिगत सुधारका गम्भीर एजेन्डाहरूमा हुनुपर्ने राष्ट्रिय बहसहरू सामाजिक सञ्जालको सतही भीडमा हराउने गरेका छन् ।
कुनै पनि नयाँ विचार वा सकारात्मक प्रयासमाथि प्रोत्साहन गर्नुको साटो, त्यसमाथि कसरी खोट लगाउने र कसरी नकारात्मक टिप्पणीको वर्षा गर्ने भन्ने कुरामा युवा पुस्ताको ठूलो ऊर्जा खेर गइरहेको छ । यो प्रवृत्ति व्यक्ति, समाज र सिङ्गो राष्ट्रको भविष्यका लागि निकै ठूलो चुनौती हो ।
डिजिटल प्रविधि आफैँमा खराब वस्तु होइन, यो त केवल एउटा माध्यम मात्र हो । यसलाई कसरी प्रयोग गर्ने र कुन दिशामा डोर्याउने भन्ने कुरा यसका प्रयोगकर्ताहरूको चेतना र विवेकमा भर पर्छ । त्यसैले, अबको आवश्यकता डिजिटल सडकलाई बन्द गर्ने वा यसबाट तर्सिने होइन, बरु यसको विवेकपूर्ण र जिम्मेवारीपूर्वक प्रयोग गर्ने संस्कृतिको विकास गर्नु हो ।
राज्यले पनि डिजिटल सडकमा हुने साइबर अपराध, चरित्रहत्या र भ्रामक सूचनाको बाढीलाई नियन्त्रण गर्न कडा कानुनी संयन्त्र बनाउनुपर्छ, तर त्यसो गरिरहँदा नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनु हुँदैन । विद्यालय र कलेज स्तरदेखि नै डिजिटल साक्षरता र सञ्चार आचारसंहिता सम्बन्धी शिक्षाहरू दिनु अपरिहार्य भइसकेको छ, ताकि नयाँ पुस्ताले सत्य र भ्रमबीचको भिन्नता छुट्याउन सकोस् ।
अन्ततः, सामाजिक सञ्जाल नामक यो डिजिटल सडक हाम्रा लागि एउटा अभूतपूर्व अवसर पनि हो र उत्तिकै भयानक चुनौती पनि हो । यसलाई सुशासनको औजार, ज्ञानको केन्द्र र समाज जोड्ने पुल बनाउने कि घृणा फैलाउने, समय बर्बाद गर्ने र समाज भत्काउने हतियार बनाउने भन्ने कुरा हाम्रै हातमा छ ।
यदि हामीले समयमै आफ्नो आनीबानीमा सुधार ल्याएर नकारात्मकताको पछि लाग्न छोडेनौँ भने, यो डिजिटल सडकले हाम्रो सभ्यता र वैचारिक सन्तुलनलाई नै कुनै दिन ठूलो दुर्घटनाको भीरमा खसालिदिने निश्चित छ ।


















