Logo

१९ जेठ,काठमाडौं । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य रोक्न माग गर्दै स्थानीयवासीले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

‘विकासको नाममा विनाश गर्न पाइँदैन’ भन्दै प्रदर्शनकारीहरूले सडक विस्तारका क्रममा घर तथा व्यवसायिक संरचना भत्काउने कार्य तत्काल रोक्न र तथाकथित ‘डोजर आतंक’ अन्त्य गर्न माग गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले वीरगञ्जको मेनरोडलाई शहरी मार्गका रूपमा कायम गर्नुपर्ने, सर्वोच्च अदालतले पीडितलाई न्याय दिनुपर्ने तथा सडक विस्तारका नाममा नागरिकको उठीबास लगाउन नहुने भन्दै नाराबाजी गरेका थिए।

वीरगञ्ज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले कानुनी प्रक्रिया पूरा गरी दशकौँअघि निर्माण गरिएका घर तथा व्यवसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार प्रभावित हुने दाबी गरे। उनले उचित मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको लामो समय बितिसक्दा पनि सुनुवाइ हुन नसकेको गुनासो गरे।

रौनियारले वीरगञ्जको मेनरोडलाई शहरी मार्गका रूपमा कायम गरी स्थानीयवासीको अधिकार र जीविकोपार्जनको संरक्षण गर्न सरकारसँग माग गरे।

सडक विस्तार योजनालाई लिएर प्रभावित स्थानीय र सरोकारवाला निकायबीच विवाद बढिरहेका बेला पीडित पक्षले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएको छ।


सम्बन्धित समाचार