Logo

२१ जेठ, बर्दिबास (महोत्तरी) । पछिल्लो पाँच दिनयता महोत्तरीसहित तराई-मधेस क्षेत्रमा बढेको अत्यधिक गर्मीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । टन्टलापुर घाम र तातो हावाको रापले बालबालिकाको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने आकलन गर्दै महोत्तरीको बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू दुई दिनका लागि पूर्ण रूपमा बन्द गर्ने आकस्मिक निर्णय गरेको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार बढ्दो तापक्रम र स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बिहीबार (२१ जेठ) र शुक्रबार (२२ जेठ) दुई दिन नगरक्षेत्रका सबै सामुदायिक, संस्थागत (निजी) र धार्मिक विद्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन् । महोत्तरी जिल्लाका १५ स्थानीय तहहरूमध्ये बर्दिबास सबैभन्दा बढी विद्यालय भएको पालिका हो, जहाँ ५५ वटा सामुदायिक र अन्य संस्थागत तथा धार्मिक गरी विद्यालयको सङ्ख्या ८० भन्दा माथि रहेको छ ।

महोत्तरीमा गत शनिबारदेखि मौसममा अचानक परिवर्तन भई गर्मी अचाक्ली बढेको हो । शनिबारयता दैनिक जसो मध्यान्हतिर जिल्लाको तापक्रम ३८ डिग्री सेल्सियसको सेरोफेरोमा रहँदै आएको छ ।

यसअघि गत आइतबार मात्रै जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अत्यधिक गर्मीका कारण कक्षा कोठामै पढिरहेका १० जना छात्राहरू अचानक बेहोस भएर ढलेका थिए । उनीहरूको तत्कालै स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र हाल सबै छात्राहरूको स्वास्थ्य अवस्था सामान्य भइसकेको विद्यालय प्रशासनले जनाएको छ ।

दिनदिनै बढ्दो घामको प्रचण्ड राप नरोकिएपछि जिल्लाका अन्य स्थानीय तहहरूमा पनि विद्यालय बन्द गर्नेबारे गृहकार्य सुरु भएको छ। मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले आगामी एक/दुई दिनभित्र मौसममा सुधार नभए बालबालिकाको हितका लागि विद्यालय बन्द गर्ने विषयमा आन्तरिक छलफल भइरहेको बताए । महोत्तरी जिल्लामा १० वटा नगरपालिका र ५ वटा गाउँपालिकासहित कुल १५ वटा स्थानीय तह छन् ।

शिक्षा विकास समन्वय इकाई महोत्तरी कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार गर्मी छल्न बर्दिबास नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने आधिकारिक निर्णय गरे पनि जिल्लाका अन्य स्थानीय तहहरूले भने अहिलेसम्म विद्यालय बन्द गर्ने सम्बन्धी कुनै औपचारिक सूचना जारी गरेका छैनन् ।

अचाक्ली गर्मी र तातो हावाका कारण महोत्तरीका प्रमुख हाटबजार तथा सरकारी कार्यालयहरूमा सर्वसाधारणको चहलपहल र आवागमन निकै घटेको छ । दिउँसोको समयमा सडकहरू सुनसान देखिन थालेका छन् ।

चिकित्सकहरूका अनुसार यो प्रचण्ड गर्मी र तातो हावाका कारण विद्यालय जाने साना नानीहरू, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिला र दैनिक रूपमा कडा शारीरिक श्रम गर्ने मजदुरहरू सबैभन्दा बढी स्वास्थ्य समस्या र जोखिममा परेका छन्। स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन र प्रशस्त पानी पिउन तथा झोलिलो पदार्थ खान सर्वसाधारणलाई आग्रह गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै