Logo

२१ जेठ, रोल्पा । रोल्पाको माडी गाउँपालिकामा आज बिहान भएको एक सवारी दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । माडी गाउँपालिका वडा नम्बर २ स्थित व्याङखोलामा पिकअप गाडी सडकबाट अनियन्त्रित भई सयौँ मिटर तल खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण श्रेष्ठका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा एक जना महिला र दुई जना पुरुष रहेका छन् । दुर्घटनाको प्रकृति अत्यन्तै दर्दनाक रहेको र घटनास्थल विकट तथा अप्ठ्यारो भीरमा भएकाले मृतकहरूको शव सङ्कलन गर्ने कार्य भइरहेको छ। भौगोलिक कठिनाइका कारण हालसम्म मृतकहरूको नाम, थर र ठेगाना (सनाखत) खुल्न सकेको छैन ।

प्रहरीका अनुसार दुर्घटनामा परेको पिकअप गाडी सडक खण्डबाट करिब ४ देखि ५ सय मिटर जति तल खोंचमा खसेको छ । गाडी पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको र भीरमा अड्किएको कारण सुरुमा उद्धार कार्यमा समेत कठिनाइ भएको थियो । निकै तल खसेका कारण दुर्घटनामा परेको गाडीको नम्बर प्लेट समेत तत्काल खुल्न नसकेको प्रहरी निरीक्षक श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

व्याङखोलामा गाडी दुर्घटना भएको खबर स्थानीयबासीले आज बिहान ९ बजेतिर मात्रै प्रहरीलाई गराएका थिए । दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरीको विशेष टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो ।

अहिले प्रहरी टोली स्थानीय नागरिकहरूको सहयोगमा घटनास्थलमा पुगेर उद्धार कार्य, शव व्यवस्थापन र कानुनी प्रक्रियामा जुटेको छ । गाडी कसरी दुर्घटना भयो र गाडीमा कति जना सवार थिए भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


सम्बन्धित समाचार